नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आम रूपमा कमजोर देखिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो हुनुको कारण के हो भन्ने प्रश्न पनि गरे। साथै, पोखरेलले उक्त प्रश्नको पाँचबुँदे जवाफ समेत उल्लेख गरेका छन्।
उनका अनुसार कम्युनिष्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए, तर समाज बदल्ने मुख्य आधार 'अर्थराजनीति' को विषय उपेक्षित रहे, क्रान्तिपूर्वको 'सरकार शक्ति सञ्चयको आधार हो' भन्ने मान्यता व्यवहारमा लागू हुन नसक्नु र सरकारमा हुँदा आम रूपमा शक्ति क्षयीकरण हुनु पुग्नुले यस्तो देखिएको बताए।
यस्तै, कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुँदा देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए तर पनि जनसमर्थन भने बढ्नुको साटो आम रूपमा घट्न पुगेको र २०५१ को मनमोहन नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी ओली नेतृत्वको ९ महिने वामपन्थी सरकारमा बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन नसक्नु साथै आम निर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले बेहोर्नु परेको असाधारण धक्काले वाम तथा कम्युनिष्ट आन्दोलनका वारेमा नयाँ ढंगले चिन्तन मनन गर्नु पर्ने ठाउँमा पुर्याएको बताए।
यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसँग किन टाढिए? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तन प्रतिको हुटहुटी सिथिल भयो? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव नभएको उनको भनाइ छ।
हरेक समस्याका पछाडि कुनै न कुनै कारण हुने र त्यसको समाधान पनि त्यस्मै निहित हुने, यो मार्क्सवादी मान्यता भएको बताए। 'तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो,' उनले भने।
प्रकाशित: ३१ श्रावण २०८३ १०:०२ आइतबार





