७ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

नेकपाको राष्ट्रिय जागरण अभियानमा १९ बुँदे उद्देश्य सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गर्दैछ। पार्टीले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण, सुशासन, सामाजिक न्याय, जनजीविकाका सवालमा जनमत निर्माण तथा पार्टी संगठन सुदृढीकरणलाई अभियानको प्रमुख उद्देश्य बनाएको छ। 

नेकपाले अभियान सञ्चालनका लागि १९ बुँदे उद्देश्य तय गरेको छ। अभियानमार्फत महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, बेथिति र असुरक्षाविरुद्ध जनताको आवाज संगठित गर्ने पार्टीको लक्ष्य छ। 

पार्टीले लोकतान्त्रिक अधिकार, गणतन्त्र, संविधान, विधिको शासन र सुशासनका पक्षमा जनजागरण सिर्जना गर्ने तथा राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र बाह्य हस्तक्षेपका विषयमा जनतालाई सचेत बनाउने जनाएको छ। 

त्यस्तै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्ने उद्देश्य पनि अभियानमा समेटिएको छ। 

संगठनात्मक रूपमा पार्टी सदस्यता नवीकरण तथा अभिलेख अद्यावधिक गर्ने, नयाँ सदस्य विस्तार गर्ने र पार्टी तथा जनवर्गीय संगठनको बाँकी समायोजन पूरा गर्ने नेकपाको योजना छ। टोल तथा बस्तीसम्म राजनीतिक–वैचारिक प्रशिक्षण विस्तार गर्ने र पार्टीका सबै तहलाई सक्रिय, जिम्मेवार तथा परिणाममुखी बनाउने लक्ष्य पनि राखिएको छ। 

आगामी महाधिवेशनको तयारीका लागि पार्टी सदस्य, शुभेच्छुक र सर्वसाधारणबाट राजनीतिक, वैचारिक, संगठनात्मक, आर्थिक तथा कार्यशैलीसम्बन्धी सुझाव संकलन गरिने नेकपाले जनाएको छ। पार्टीभित्र जिम्मेवारी निर्धारण, कार्यसम्पादन, अनुगमन र मूल्यांकनको व्यवस्थित प्रणाली विकास गर्ने तथा बाँकी जिल्ला, पालिका र वडा तहमा पार्टी कार्यालय स्थापना गर्ने योजना पनि अभियानका उद्देश्यमा छन्। 

पार्टीले वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रबीच नियमित तथा संस्थागत रिपोर्टिङ प्रणाली लागू गर्ने, प्रचार–प्रकाशन र डिजिटल सञ्चारलाई तथ्यमा आधारित तथा आधुनिक बनाउने र महिला, युवा, विद्यार्थी, श्रमिक, किसान, दलित, आदिवासी जनजाति, मधेसीलगायत समुदायको अर्थपूर्ण सहभागिता तथा नेतृत्व विकासलाई प्रोत्साहन गर्ने जनाएको छ। 

यसैगरी, देशभक्त, लोकतान्त्रिक, वामपन्थी, सामाजिक अभियन्ता, नागरिक समाज, बुद्धिजीवी तथा जनप्रतिनिधिसँग साझा जनसरोकारका विषयमा संवाद र सहकार्य बढाउने नेकपाको योजना छ। 

अभियानका क्रममा स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक परिस्थिति, विभिन्न राजनीतिक दलको अवस्था, भूमिका, प्रभाव र जनआधारको तथ्यगत अध्ययन गरिनेछ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक शक्तिको सम्भावित स्थिति र प्रभाव विश्लेषण गरी आवश्यक रणनीति तयार पार्ने उद्देश्यसमेत नेकपाले राखेको छ। 

पार्टीको राजनीतिक कार्ययोजना, विचार र कार्यक्रमबारे जनतालाई स्पष्ट पार्नुका साथै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि आवश्यक तयारी गर्नु पनि अभियानका प्रमुख उद्देश्य हुन्। 

प्रकाशित: ७ कार्तिक २०८३ १३:१४ शनिबार