कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। दुई दलबीच बुधबार भएको सहमतिअनुसार प्रदेश सरकारमा मन्त्रालयको बाँडफाँटसहित प्रशासनिक सुधार, बजेट कार्यान्वयन र सुशासनका विषयमा समेत साझा नीति तय गरिएको छ।
सहमति पत्रमा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल र नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाहीले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन हुनेछ। नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछ।
त्यस्तै, नेकपा एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी लिने सहमति भएको छ।
दुई दलबीच भएको सहमतिमा प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णयहरू कार्यान्वयन गर्दै बाँकी सुधारका कामलाई निरन्तरता दिने उल्लेख छ। आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्दा प्रदेशसभामा रहेका दलहरूबीच भएको सहमतिअनुसार बजेट कार्यान्वयन गर्ने पनि सहमति गरिएको छ।
त्यसैगरी, ३० लाख रुपैयाँभन्दा माथिका योजनाहरू ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गर्ने विगतको नीतिलाई निरन्तरता दिने निर्णय भएको छ।
नयाँ नीति तथा कार्यक्रम, मनोनयन र नियुक्तिका विषयमा भने आपसी सहमतिपछि मात्र कार्यान्वयनको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ। प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शिता कायम हुने गरी सञ्चालन गर्ने प्रतिबद्धता पनि दुई दलले व्यक्त गरेका छन्।

प्रकाशित: ३ भाद्र २०८३ १३:१३ बुधबार





