नेपाली कम्युनिस्ट पार्टी (नेकपां) ले सुनसरीको देवानगञ्ज गाउँपालिका ३ , कप्तानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार विज्ञप्ति जारी गर्दै निहत्था नागरिकमाथि गोली चलाइनु गम्भीर मानवअधिकार उल्लङ्घन भएको दाबी गरेका छन्।
विज्ञप्तिमा नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नरहेको भन्दै सुरक्षाकर्मीले नियम कानुनविपरीत घुँडामाथि गोली प्रहार गरी एक नागरिकको ज्यान लिएको बताइएको छ।
नेकपाले सामाजिक सद्भाव कायम राख्नुपर्ने संवेदनशील अवस्थामा सरकार अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा सुरक्षा संयन्त्रबाट अत्यधिक बल प्रयोग भएको बताएको छ। घटनाका क्रममा सुरक्षा निकाय नेतृत्वविहीन बनेको उल्लेख गर्दै त्यसलाई सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीका रूपमा व्याख्या गरिएको छ।
पार्टीले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
प्रकाशित: १२ श्रावण २०८३ १२:२३ मंगलबार

