१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

पत्रकारमाथिको धरपकडबारे नारायणकाजीले भने : भद्दा निरंकुशता

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पत्रकारमाथि भएको धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई लोकतान्त्रिक सरकारद्वारा थोपरिएको ‘भद्दा निरंकुशता’ को संज्ञा दिएका छन्। 

उनले संविधानप्रदत्त मौलिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले गरेको पछिल्लो आक्रमणको भर्त्सना गर्दै यस्तो कार्य तत्काल अन्त्य गर्न माग गरेका छन्। 

सामाजिक सञ्जालमार्फत श्रेष्ठले नेपालले लामो बलिदानीपूर्ण संघर्षबाट निरंकुशतन्त्र परास्त गरी आफ्नै मौलिकताको लोकतान्त्रिक व्यवस्था स्थापना गरेको स्मरण गराएका छन्। तर अहिले लोकतान्त्रिक प्रणालीअन्तर्गत निर्वाचित सरकारबाटै निरंकुश व्यवहार व्यहोर्नुपरेको उनको भनाइ छ। 

पत्रकारलाई गिरफ्तार गर्ने, पत्रकार पक्राउ गर्न पत्रिकाका कार्यालयमा प्रहरी परिचालन गरी घेराबन्दी गर्ने, प्रहरीबाट प्रधानमन्त्रीको सचिवालयको चासोका कारण यस्तो गरिएको भन्ने आधिकारिक जानकारी आउने र प्रधानमन्त्रीको प्रेस सचिवालयले भने प्रधानमन्त्री तथा सचिवालयको यसमा कुनै सम्बन्ध र जानकारी नरहेको बताउने घटनाक्रमप्रति उनले आपत्ति जनाएका छन्। 

‘यो सरकारले संविधानमाथि गरेको आक्रमण र निरंकुशता मात्र होइन, सरकारको न्यूनतम लोकतान्त्रिक आचरण र कार्यशैलीको घोर उल्लंघन हो,’ उनले लेखेका छन्। 

सुशासन, समृद्धि र सामाजिक न्यायको नारा दिएर सत्तामा पुगेको सरकारले यस्तो कार्य गर्नु जनताको भावना र लोकतन्त्रमाथिको गैरजिम्मेवार खेलवाड भएको उनले बताएका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App