राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दिपककुमार साहले महोत्तरी क्षेत्र नम्बर २ अन्तर्गत औरही नगरपालिका-८ टिमकियामा ट्रान्सफर्मर जडानको विषयलाई लिएर भएको घटनाबारे सदनको ध्यानाकर्षण गराएका छन्।
बुधबार संसद्मा बोल्दै उनले स्थानीय विकासका विषयमा छलफल गर्न नगर प्रमुखसमक्ष पुगेका युवाहरू र सम्बन्धित पक्षबिच विवाद बढ्दै जाँदा झडप भएको र चार जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको भन्दै यस्तो माग गरेका हुन्।
विकासको माग राख्दै स्थानीय सरकारसमक्ष पुग्नु र प्रश्न गर्नु नागरिकको अधिकार भएको भन्दै उनले घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने उनको भनाइ छ।
‘कुनै पनि विकास निर्माणका विषयलाई राजनीतिक मुद्दा बनाउनु हुँदैन। जनतासँग सम्बन्धित विकासका विषयलाई उनीहरूलाई सहज हुने गरी अगाडि बढाउनुपर्छ,’ उनले भने।
सांसद साहले गृह प्रशासन र सम्बन्धित निकायलाई तत्काल पहल गरी शान्ति कायम गर्न, निष्पक्ष छानबिन गर्न र स्थानीय विकासको समस्या समाधान गर्न आग्रह गरेका छन्।
प्रकाशित: ३१ भाद्र २०८३ १३:५२ बुधबार





