प्रतिनिधिसभा सदस्य रबिन महतोले सर्लाहीमा लखन्देही नदीका कारण वर्षौँदेखि बाढी, कटान र डुबानको समस्या भोग्दै आएका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि स्थायी तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतोले सुन्दरपुर, सुपैना, सक्रौल, शिवनगर, भाडसर, खुटौना, छपकहिया र पर्सालगायतका गाउँ लखन्देही नदीको बाढी र कटानबाट वर्षौँदेखि प्रभावित हुँदै आएको बताए।
उनले लखन्देही नदीले छपकहियामा कटान गर्दा करिब २ हजार ५ सय बिघा खेतीयोग्य जमिन डुबानमा परेको र आफूले तटबन्ध निर्माण तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको बताए।
तर चार दिनसम्म लगातार भएको वर्षापछि छपकहियामा रहेको कमजोर तटबन्ध पुनः भत्किँदा सक्रौल, शिवनगर, भाडसर, खुटौना, छपकहिया र पर्सालगायतका गाउँमा खेतीयोग्य जमिन पुनः डुबानमा परेको उनले बताए।
महतोले एकपटक डुबानमा परेको खेतमा किसानले पुनः धान तथा अन्य बाली रोपे पनि फेरि डुबान हुँदा ठूलो क्षति व्यहोर्नुपरेको बताए। यसपटकको बाढीले घरसमेत डुबानमा परेको र भाडसरका करिब पाँचदेखि सात वटा गाउँ प्रभावित भएको उनको भनाइ छ।
‘करिब २० वर्षअघि निर्माण भएको तटबन्ध अहिलेसम्म कमजोर भइसकेको छ। हरेक वर्ष तटबन्ध मर्मत गर्ने र बाढी आएपछि राहत दिने मात्र होइन, अब यसको ठोस समाधान खोज्न आवश्यक छ,’ उनले भने।
प्रकाशित: १६ आश्विन २०८३ १२:४३ शुक्रबार


-600x400.jpg)


