राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसमा सुरक्षा बल परिचालनमा सरकार सक्रिय देखिए पनि शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा आवश्यक जनशक्ति व्यवस्थापनमा उदासीन रहेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले बल प्रयोगलाई प्राथमिकता दिने प्रवृत्तिमाथि प्रश्न उठाए। उनले मधेसमा हजारौँ प्रहरी परिचालन गर्न बजेट हुने तर शिक्षक, डाक्टर र इन्जिनियर नियुक्त गर्न बजेट नहुनु विभेदपूर्ण नीति भएको टिप्पणी गरे।
सिंहले मधेसमा हुने प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको आरोप लगाउँदै सुरक्षा नीतिको पुनरावलोकन आवश्यक रहेको बताए। उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्नेमा पनि जोड दिए।
सांसद सिंहका अनुसार मधेसका समस्या सुरक्षा दृष्टिकोणबाट मात्र नभई विकास, शिक्षा, स्वास्थ्य र संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता छ। उनले सरकारलाई मधेसप्रति अपनाइएको नीति पुनर्विचार गर्दै समावेशी र दीर्घकालीन समाधानतर्फ अघि बढ्न आग्रह गरे।
प्रकाशित: १९ श्रावण २०८३ १४:१३ मंगलबार





