प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि पुनर्निर्माणको काम प्रभावकारी र तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले भदौ २३ र २४ गतेको विध्वंसपछि निजी क्षेत्रले देखाएको पुनर्निर्माणको गति र राज्यका संरचनामा देखिएको सुस्तताबीच तुलना गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले आफू घरबाट महाराजगञ्ज र नक्सालका भाटभटेनी हुँदै संसद् आउने गरेको उल्लेख गर्दै भदौ २४ को विध्वंसमा खरानी बनेका व्यापारिक केन्द्रहरू छोटो समयमै थप बलियो र संरचनागत रूपमा पुनःनिर्माण भइरहेको बताए।
‘निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने, ‘तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु।’
आचार्यले नयाँ संसद् भवनमा बजेट अधिवेशन हुने भनिए पनि अहिले पनि अस्थायी भवनबाटै संसद् सञ्चालन भइरहेको भन्दै राज्यका प्रमुख संरचनाको पुनर्निर्माणमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाए।
उनले सिंहदरबारलाई राज्यको मुटु र संसद्लाई सार्वभौम जनप्रतिनिधिमूलक संस्थाका रूपमा उल्लेख गर्दै यस्ता संरचनाको पुनर्निर्माणको गति सुस्त हुँदा रसुवा र नुवाकोटका बाढीपीडित नागरिकले आफ्नो पुनर्निर्माण सही दिशामा हुन्छ भन्ने विश्वास कसरी गर्ने भन्ने प्रश्न गरे।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्को निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? ’ उनले प्रश्न गरे। आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यवहारिक कमजोरी पहिचान गरी त्यसलाई तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।
‘के–के नीतिगत र व्यवहारिक कमजोरी छन्, त्यो पत्ता लगाऊ र पुनर्निर्माणको गतिलाई बढाऊ, बिफोर इट्स टु लेट,’ उनले भने।
प्रकाशित: २५ भाद्र २०८३ १५:२३ बिहीबार




