राप्रपाका पूर्वनेता रवीन्द्र मिश्रले घर भाडाको आय, आयकर छुटमा नपरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यो वर्षको बजेटले दश लाख रुपैयाँसम्मको आयमा कर छुट दिने उल्लेख गरेको भए पनि घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइएको सामाजिक सञ्जालमा उनले लेखेका छन्।
घर भाडा मात्र आयस्रोत भएका र अन्य कुनै आयस्रोत नभएका आफू जस्ता धेरै मान्छे रहेको बताउँदै मिश्रले उनीहरूले कर छुट किन नपाउने भनेर प्रश्न गरे।
'यो त अति भयो? 'घर भाडा' को आय, आयकर छुटमा किन नपरेको, अर्थमन्त्रीज्यू? स्वर्णिम वाग्ले,' उनले लेखेका छन्, 'यो वर्षको बजेटले रू दश लाखसम्मको आयमा कर छुट दिने उल्लेख गरेको थियो। तर म हिजो घर भाडा कर बुझाउन जाँदा घर भाडामा कर छुट नहुने बताइयो। घर भाडामात्र आयस्रोत भएका र अन्य कुनै आयस्रोत नभएका मजस्ता धेरै मान्छे हुन्छन्। अनि उनीहरूले चाहिँ कर छुट नपाउने पनि हुन्छ?'
उनले यस्तो महत्वपूर्ण विषयमा बजेटमा एउटा कुरा भन्ने, स्थानीय निकायले अर्कै अधिकार निर्धारण गर्ने गरेको बताउँदै भने, 'पहिलेका वर्षहरूमा पनि यस्तै भएको थियो। यो वर्षचाहिँ यसबारे लेख्ने निर्णय गरेँ।'
साथै, कसरी, के संशोधन गरेर मिलाउनु पर्ने हो, मिलाउनु माग गरे। उनले लेखे, 'यो त अति भयो अर्थमन्त्रीज्यू। कसरी, के संसोधन गरेर मिलाउनु पर्ने हो, मिलाउनु पर्यो। नत्र धेरै इमानदार करदातालाई ठूलो मर्का पर्ने देखियो।'
प्रकाशित: ४ भाद्र २०८३ ०८:४३ बिहीबार





