जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले सबै राजनीतिक दलहरूलाई आसन्न निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन्। साथै, युवा पुस्ताको रगत र पसिनाको सम्मान गर्दै मन्त्रिपरिषद्मा जेनजीको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग राखे।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शनिबार शीतलनिवासमा बोलाइएको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले यस्तो बताएका हुन्।
युवाहरूको आन्दोलनपछि सरकार र जेनजी प्रतिनिधिबीच यो पहिलो औपचारिक छलफल थियो।
ढुंगानाले भने, ‘मेरो अनुरोध के हो भने निर्वाचनमा चाहिँ सबै दलहरू आइदिनुहोस्। यो प्रजातान्त्रिक प्रक्रिया हो, कसैले कसैलाई रोक्नेवाला छैन। देश जनताले छाने भने तपाईं नै निर्वाचित हुनुहोला, तर स्वच्छ प्रतिस्पर्धा हुन्छ, आउनुहोस्।’
पुराना दलहरू निर्वाचनमा सहभागी नभए निर्वाचन नै नहुने अवस्था आउन सक्नेबारे छलफलमा कुरा उठेको उनले जानकारी दिए।
उनले मन्त्रिपरिषद्मा युवाको प्रतिनिधित्व हुनैपर्नेमा जोड दिए। ‘सडकको रगत क्याबिनेटसम्म पुग्नैपर्यो, त्यसमा हामी अडिग छौँ। आज पनि मैले सोधेँ, ‘हुन्छ’ भन्ने जवाफ आएको छ,’ ढुंगानाले भने।
शनिबार बिहान १० बजेका लागि तय भएको छलफल सुरु भएको केहीबेरमै राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
छलफलकै क्रममा टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
अस्पतालले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि जेनजी प्रतिनिधिहरूसँगको औपचारिक वार्ता सोमबार दिउँसो ३ बजेका लागि सारिएको छ।
यद्यपि, राष्ट्रपति अस्पताल जानुअघि नै शीतलनिवास पुगिसकेकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूले जेनजी प्रतिनिधिहरूसँग करिब एक घण्टा अनौपचारिक छलफल गरेका थिए।
के भयो छलफलमा?
उक्त अनौपचारिक छलफलमा प्रधानमन्त्री कार्कीले आफ्नो सरकारलाई बाहिरी शक्ति वा एनजीओले चलाएको नभई आफैँले चलाएको भन्दै ढुक्क हुन आग्रह गरेकी थिइन्।
छलफलमा जेनजीका प्रतिनिधिहरू सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुंगाना, रक्षा बम, युजनराज भण्डारीलगायत २२ जना सहभागी थिए। उनीहरूले सुशासन र संविधान संशोधनजस्ता विषयमा आफ्नो धारणा राखेका थिए।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले आसन्न निर्वाचनबारे दलका शीर्ष नेताहरूसँग सर्वदलीय बैठक बसेका थिए।
भित्र छलफल चलिरहँदा आफूहरूलाई वार्तामा सहभागी नगराइएको भन्दै केही जेनजी युवाहरूले राष्ट्रपति कार्यालयबाहिर नाराबाजी र असन्तुष्टि व्यक्त गरेका थिए।
सोही विरोधका कारण पनि वार्ता प्रभावित बनेको थियो। छलफलमा करिब २० जना प्रतिनिधि भित्र रहँदा बाहिर रहेकाहरूले आफूहरूलाई पाखा लगाइएको गुनासो गरेका थिए।
प्रकाशित: २५ आश्विन २०८२ १७:२३ शनिबार





