३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

फरेन्सिक विधेयकमा विशेषज्ञको योग्यता र प्रमाणित तालिमलाई प्राथमिकता दिन मन्त्री पुनको प्रस्ताव

फाइल तस्बिर

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापनमार्फत भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन्।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।

फरेन्सिक विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) हुनुपर्ने धारणा राखे। उनले विगतको शैक्षिक अवस्थाभन्दा वर्तमान आवश्यकतालाई ध्यानमा राखेर समयअनुसार मापदण्ड परिमार्जन गर्नुपर्ने बताए।

फरेन्सिकसम्बन्धी तालिमका विषयमा पनि उनले सामान्य तालिमलाई मात्र आधार नबनाई मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाबाट प्राप्त तालिमलाई मात्रै मान्यता दिने व्यवस्था आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘तालिमको प्रकृति अझ विशिष्ट हुनुपर्छ। तालिम कहाँबाट लिइएको हो, प्रमाणित संस्था वा प्रमाणित विश्वविद्यालयबाट गरिएको हो कि होइन भन्ने स्पष्ट हुनुपर्छ। सामान्य तालिमलाई मात्रै मान्यता दिने व्यवस्था उपयुक्त हुँदैन।’

मन्त्री पुनले विधेयकमा रासायनिक, भौतिक तथा जैविक प्रमाणसँगै विद्युतीय (डिजिटल) प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने बताए। अपराध अनुसन्धानमा डिजिटल प्रमाणको महत्व बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई कानुनी रूपमा व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: १७ असार २०८३ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App