नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप पार्टी सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ।
भेटमा पार्टीलाई एकढिक्का बनाउन आफू जुनसुकै त्याग गर्न तयार रहेको नेता डा. कोइरालाले बताएका छन् भने सभापति थापाले पनि आफू पार्टी एकताकै पक्षमा रहेको प्रस्ट पारेका छन्।
डा. कोइरालाको सचिवालयका अनुसार दुई शीर्ष नेताबीच पार्टीभित्र देखिएका आन्तरिक समस्या र तिक्तता समाधान गर्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको हो।
छलफलका क्रममा नेता डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता नै अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको कुनै विकल्प नरहेको बताएका थिए।
सङ्कटको यस घडीमा पार्टी एकता जोगाउन आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको धारणा उनले राखेका थिए।
नेता कोइरालाको भनाइपछि सभापति थापाले आफू पनि पार्टीभित्र विभाजन नभई एकताकै पक्षमा रहेको बताउँदै आन्तरिक समस्यालाई संवादबाटै समाधान गर्न सकिने जवाफ दिएका थिए।
भेटवार्तामा आन्तरिक राजनीतिका अलावा पछिल्लो समय देशमा निम्तिएको प्राकृतिक विपद्बारे समेत गम्भीर विमर्श भएको छ।
यही भदौ १० गते बुधबार नेपाल-चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा पुर्याएको क्षति तथा पछिल्लो अवस्थाका विषयमा दुई नेताबीच समीक्षा भएको थियो।
प्रकाशित: २१ भाद्र २०८३ १६:२६ आइतबार





