१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमसीसीले भूराजनीतिक सन्तुलनमा गम्भीर असर पार्छ: खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सुरक्षा रणनीतिको एक हिस्सा भएको दाबी गरेका छन्।

उनले यसले नेपालको चीन र भारतसँगको लामो समयदेखिको भूराजनीतिक सन्तुलनमा गम्भीर असर पार्ने चेतावनी दिए।

काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै नेता खनालले एमसीसी सम्झौता अनुमोदन प्रक्रिया ‘आश्चर्यजनक नाटक’ भएको बताए।

उनले प्रमुख राजनीतिक दलहरूले जनताको आवाज र राष्ट्रिय हितलाई बेवास्ता गरेको आरोप लगाए। ‘यो सम्झौता दक्षिण एसियामा अमेरिकी सरकारको गहिरो सुरक्षा रणनीतिको अभिव्यक्तिको लागि बनाइएको हो,’ उनले भने।

सम्झौता अनुमोदन गर्नुको एकमात्र मनसाय नेपालको कानुनमाथि सम्झौताका प्रावधानहरूलाई हावी गराउनु रहेको उनको जिकिर थियो।

उनले केही राजनीतिक दलहरूले सडकमा आफ्ना कार्यकर्ता उतार्ने तर बन्द कोठामा एमसीसीका नीति निर्माताहरूसँग वार्ता गर्ने दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरे।

नेता खनालले एमसीसी सम्झौताले एमसीए–नेपाललाई पूर्ण स्वायत्तता प्रदान गरी नेपाल सरकारको अधिकारलाई समेत संकुचित पारेको सुनाए।

‘सम्झौताले नेपालको सार्वभौमसत्तालाई कमजोर बनाएको छ,’ उनले भने, ‘यसले देशका नेताहरूले जनता र राष्ट्रलाई धोका दिएको स्पष्ट पार्छ।’

उनले एक स्वतन्त्र, प्रजातान्त्रिक र स्वाभिमानी देशका लागि यो लज्जास्पद विषय भएको टिप्पणी गरे।

प्रकाशित: ८ भाद्र २०८२ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App