नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल जनवादी, राष्ट्रवादी र प्रगतिशील युवाहरूको साझा संगठन भएको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवस तथा युवा दिवसको शुभकामना व्यक्त गर्दै बस्नेतले यस्तो बताएका हुन्। वि.सं. २०४७ साल जेठ १ गते स्थापना भएदेखि यस संगठनले नेपालको युवा आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै उनले भने, 'युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, युवा मन्त्रालय स्थापना, युवा नीति निर्माण तथा युवा स्वरोजगार कोष स्थापना जस्ता विषयहरूमा संगठनले उल्लेखनीय योगदान दिएको इतिहास छ।'
बस्नेतले आजको युवा आन्दोलन निरंकुशता, स्वेच्छाचारिता, प्रतिशोध र अन्यायका विरुद्ध अझ जुझारु, सचेत र प्रतिरोधी ढंगले अगाडि बढ्न आवश्यक रहेको बताए। साथै नवउदारवादी र पपुलिस्ट शक्तिहरूलाई परास्त गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय अभियानलाई बलियो बनाउनु आजको युवापुस्ताको जिम्मेवारी भएको उल्लेख गरेका छन्।
'नवउदारवादी र पपुलिस्ट शक्तिहरूलाई परास्त गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभियानलाई बलियो बनाउनु आजको युवापुस्ताको जिम्मेवारी हो,' सामाजिक सञ्जालमार्फत उनले भने, 'लोकतान्त्रिक पद्धति, जनअधिकार, राष्ट्रिय स्वाभिमान र सामाजिक न्यायको रक्षा गर्दै नेपालको युवा आन्दोलन अझ सशक्त रूपमा अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु।'
प्रकाशित: १ जेष्ठ २०८३ ०७:१८ शुक्रबार





