१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन चर्चा : तयार छैनन् पाका दल ?

आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने चर्चा छ। संसद्को ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावमा आफूलाई केन्द्रित गरिसकेको छ।

स्थानीय तहमा उम्मेदवार हुन चाहने योग्य दाबेदारको छनोटमा लागेको रास्वपाले आकांक्षीहरूको आवेदन लिइसकेको छ। पाका र पुराना भनिएका दलहरू भने निर्वाचनका लागि अझै तयार भइसकेका छैनन्। उनीहरूले नीतिगत रूपमा चुनावी तयारीमा रहेको बताए पनि निर्वाचनलक्षित कार्यक्रम स्थानीय तहसम्म पुर्‍याउन सकेका छैनन्।

नेपाली कांग्रेसले अब आफ्नो शक्ति स्थानीय तहको निर्वाचनमा खर्चने लक्ष्य लिएको छ। तर फागुनकै लागि भने कांग्रेसले आफूलाई तयार पारिसकेको भने देखिन्न। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले चुनावका पक्षमा कांग्रेस कहिल्यै ‘अपोजिसन’ मा नरहने तर तिथिमितिमा सहमति कायम गरिनुपर्ने बताउँछन्। ‘वर्तमान सरकार र निर्वाचन आयोगको तयारी भनेर जसरी आगामी फागुनमै चुनाव गर्ने भन्ने चर्चा छ, यस्तो तयारी र चर्चालाई अस्वाभाविक भन्न मिल्दैन’, उनले भने, ‘तर सबै दलहरूसँगको सहमतिका आधारमा निर्वाचन तिथिमिति टुंगो निर्वाचन आयोगले लगाउला तर कांग्रेस चुनावको विपक्षी दल कहिल्यै बन्न सक्दैन। त्यसका लागि कांग्रेसले तयारी थालिसकेको छ।’

उनका अनुसार कांग्रेस महाधिवेशनअगाडि पुष्पा भुसालको संयोजकत्वमा निर्वाचन ब्युरो निर्माण गरिएको थियो। ब्युरोले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी तथा उम्मेदवार चयनसम्मको अधिकार पाएको थियो। महाधिवेशनबाट भुसाल पुनः उपसभापतिमै निर्वाचित भएकाले यो ब्युरो उनकै कमान्डमा राख्ने तयारीमा कांग्रेस छ। ब्युरोमार्फत उम्मेदवार चयन, चुनावलक्षित कार्यक्रम कांग्रेसले तयार पार्ने सहमहामन्त्री चौधरीले जानकारी दिए।  

समानान्तर गतिविधिमै सक्रिय रहेको शेरबहादुर देउवा समूहलाई समेत पार्टीमा समाहित गर्ने चुनौती कांग्रेससामु छ। अहिले कांग्रेसको प्राथमिकता आगामी निर्वाचनभन्दा पनि आन्तरिक व्यवस्थापनको विषय छ तर उसले निर्वाचनमा केन्द्रित हुन पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै आएको छ।  

अर्को पुरानो दल नेकपा एमाले पनि चुनावको ठोस तयारीमा जुटिसकेको छैन। ‘स्थानीय तह निर्वाचन जित्ने गरी माहोल निर्माण गर्न केन्द्रबाट अन्तरपार्टी निर्देशन भएको छ’, एमाले नेता युवराज ज्ञवालीले भने, ‘तर ठोस रूपमै उम्मेदवार चयनको प्रक्रिया प्रारम्भ गरेर पार्टी अगाडि बढेको छैन।’ उनका अनुसार केन्द्रीय समितिले नै कार्यकर्ता पंक्तिलाई एमालेको पक्षमा चुनावी माहोल तयार गर्न फिल्डमा खट्न निर्देशन भने दिइसकेको छ। ‘सोही निर्देशनअनुसार कार्यकर्ता पंक्ति पार्टीको नियमित गतिविधि जस्तै आम मतदातासँग जोडिने काम भएका छन्’, ज्ञवालीले भने, ‘रास्वपाले अहिले जसरी उम्मेदवार चयन प्रक्रिया नै थालिसकेको छ, एमालेले त्यो खालको तयारी गरेको छैन।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत ७ गतेदेखि देशव्यापी जागरण अभियानको सुरुवात गरेको छ। नेकपाले यसलाई निर्वाचनलक्षित कार्यक्रम भनेर स्पष्ट भनेको त छैन तर यो अभियानले कार्यकर्तामा जागरण पैदा गर्ने र स्थानीय तह निर्वाचनमा फाइदा पुग्ने लक्ष्य पार्टीको छ। नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले कार्यकर्तालाई पार्टीप्रति आकर्षण गर्ने गरी अभियान थालिएको बताए। ‘यो अभियानलाई ठ्याक्कै स्थानीय तहको निर्वाचनकेन्द्रित भनेर स्पष्टरूपमा बोलिएको छैन तर आम कार्यकर्तालाई संगठित गर्ने, जागरण पैदा गर्ने र पार्टीप्रति गोलबद्ध गर्ने जागरण अभियानको लक्ष्य हो’, उनले भने।

फागुनमा चुनाव हुन सक्ने चर्चा बाक्लिएको भए पनि नेकपाले त्यसका लागि आफूलाई तयार पारेको छैन। ‘फागुनमा चुनाव हुँदैन, चुनाव हुने असारमै हो’, उनले भने ‘हामीले चुनावी तयारी गर्ने भनेको असारका लागि हो, अहिल्यै उम्मेदवार छान्नेजस्ता काममा धेरै आत्तिहाल्नुपर्ने छैन।’

प्रकाशित: १० कार्तिक २०८३ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App