१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

दसैँअघि मुख्य राजमार्ग अनुगमन गरी मूल्य समायोजन गरियोस् : सांसद कार्की

प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीले दसैँअघि देशभरका मुख्य राजमार्ग, सडक, बसपार्क तथा सडकखण्डमा ट्राफिक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। उनले केही दिनमै दसैँ सुरु हुन लागेको र लाखौँ नागरिक सडकमार्फत घर फर्किने भएकाले सरकारले तत्काल सडक सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

‘दसैँको मुखमा देशभरका मुख्य राजमार्ग, सडक, बसपार्क र जोखिमयुक्त सडकखण्डमा तत्काल सुरक्षा अनुगमन, मर्मतसम्भार र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने। 

यातायात क्षेत्रलाई समस्या आएपछि मात्रै सम्झिने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै कार्कीले यातायात जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा भएकाले यस क्षेत्रका समस्या समाधानलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए। 

साथै सडक दुर्घटनाका लागि चालकलाई मात्र दोषी देखाउन नहुने उनको भनाइ थियो। 

‘चालकको मात्र दोष देखाएर हुँदैन। सडकको अवस्था, सवारी साधनको अवस्था, चालकको काम गर्ने वातावरण, ओभरलोड, तीव्र गति र ट्राफिक व्यवस्थापन यी सबै पक्षको प्रभावकारी अनुगमन आवश्यक छ,’ उनले भने। 

यसैगरी, पेट्रोलियम पदार्थको मूल्य बढ्ने चर्चाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। दसैँको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर आम नागरिकलाई थप आर्थिक भार पार्ने अवस्था सिर्जना नगर्न उनले आग्रह गरे। 

उनले भने, ‘यदि मूल्य समायोजन गर्नुपर्ने अवस्था छ भने पनि जनताको हकमा काम गरियोस, यातायात भाडा र दैनिक उपभग्य वस्तुको मूल्यमा पर्ने असरलाई ध्यानमा राखेर सरकारले संवेदनशिलता पुर्वक निर्णय गरोस,’

प्रकाशित: १६ आश्विन २०८३ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App