४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महावीर भन्छन् : रिसाएर होइन, ठेस लागेर चुनाव लड्न आएको हुँ

मत माग्न म्याग्दीबाट पोखरा आए महाविर

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन यतिबेला पोखरामा व्यस्त छन्। जिल्लाबाट आएर पोखरामा बसोबास गरेका मतदातालाई भेट्दै मत माग्ने गरी पुन पोखरा झरेका हुन्। जिल्लावासी मतदातासँग अहिले पुन व्यस्त छन्।

म्याग्दीबाट अध्ययन, पेशा, व्यवसायका लागि आउनेको संख्या धेरै भएकाले उनी मत माग्न पोखरा आएका हुन्। बिहीबार आएका उनी शुक्रबार समाजले आयोजना गरेको चुनावी भेटघाट कार्यक्रममा सहभागी भएर पुन: म्याग्दी फर्किएका छन्। ‘जिल्लावासीसँग मत माग्न भनेर हिजो आएको थिएँ,’ उनले भने, ‘आज एक/दुई ठाउँमा भेटघाट भयो, अब फर्किन्छु।’

सरकारमा रहँदा कानुन बनाउने काममा ठेस लागेकाले चुनाव लड्न आएको जिल्लावासी मतदाता माझ उनले बताए। मन्त्री भएका बेला शिक्षा क्षेत्रमा भएका विकृति र विसंगति रोक्न विधेयक बनाएको तर त्यसलाई कानुनमा परिणत गर्न नसकेपछि चुनावमा होमिएको उनको प्रष्टोक्ति थियो।

'भन्न त मलाई चुनाव गराउन आएको मान्छे भागेर आफैँ चुनाव लड्न गएको मान्छे पनि भन्छन्, कसैले बेवकुफ समेत भने,’ उनले थपे, ‘तर म राजनीति गर्ने रहरले चुनाव लड्न आएको होइन। बरु सरकारको मन्त्री बनेका बेला शिक्षा क्षेत्र सुधार्ने अध्यादेशलाई कानुनमा परिणत गर्नका लागि मात्र संसदमा जाने उद्देश्यले चुनाव लड्न आएको हुँ।’

उनले शिक्षा क्षेत्र सुधार्ने कानुन बनाउन नसक्दा ठेस लागेको बताए। ‘प्रधानमन्त्रीज्यू (सुशील कार्की) ले मलाई रिसाएर जानुभयो समेत भन्नु भो,’ उनले भने, ‘तर म रिसाएर सरकार छाडेको होइन। बरु ठेस लागेर हो। यदि अध्यादेश आएको भए म चुनाव लड्न जाने थिइनँ। धोका खाएर आएको हो।’

पुनले आफू चुनाव लड्न आए पनि राजनीतिमा नआएको प्रष्टीकरण दिए। आफू अमेरिका छाडेर ३३ वर्षदेखि नेपालमा बसिरहेको बताउँदै उनले भने, ‘यत्तिका वर्ष कुनै पार्टीमा नलागेको मान्छे हो म, पार्टीमा लाग्नु भनेको राजनीति गर्नु हो। तर मैले राजनीति गरेको होईन। कुनै पार्टीमा लागेर, कुनै पार्टीको पुच्छर भएर हिंडेको प्रमाणित गर्नुस्। म त समाजसेवा गर्ने मान्छे हो।’

उनले सांसदमा जिते पनि एक्लो सांसदले कसरी काम गर्छ भनेर खिसिट्यूरी गरेकोप्रति चित्त दुःखाए। त्यसको जवाफमा उनले भने, ‘आफूजस्तै ईमान्दार, भ्रष्टाचार नगर्ने सांसदहरुलाई समेटेर टिम बनाउँछु र शिक्षा क्षेत्र सुधार्ने कानुन बनाउँछु।’

पुनले चुनावमा मत माग्दा विकास गर्छु भन्नु झुठो आस्वासन मात्र भएको बताए। त्यसैले आफूले भोट दिने भए देउ, नत्र नदेउ भन्ने गरेकोउनले  बताए। दलका उम्मेदवारले पुल, अस्पताल, बाटो, स्कुल बनाउँछु भन्छन, तर म यस्तो गर्छु, उस्तो गर्छु भन्दिछ अहिले,’ उनले भने, ‘यदि भोलि अर्थमन्त्रालयले बजेट दिएन भने कसरी बनाउँछ? त्यसैले यो झुठो आस्वासन हो।’ 

उनले आफूले त्यस्तो झूठो आश्वासन दिएर मत नमाग्ने बताए। 'बरु म के वाचा गर्छु भने चुनाव जितेपछि गाउँ फर्केर सबै ठाउँ डुल्छु,’ उनले भने, ‘गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखसँग, वडाध्यक्ष र सबै जनप्रतिनिधिसँग छलफल गर्छु। संघसंस्थासँग छलफल गर्छु र सुझाव माग्छु। त्यसरी मागिएको सुझावमध्ये कुन कामचाहिँ नगरी नहुनेछ, त्यो कामलाई वार्षिक क्यालेण्डर बनाएर पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा गर्ने भनेर छुट्याउँछु।’

कार्यक्रममा मतदाताले उम्मेदवार पुनलाई आर्थिक सहयोग गरे। पार्टीका उम्मेदवारले पैसा र मासुभात खुवाउँदा पनि कम सहभागी हुने मतदाता महाविरको कार्यक्रममा बाक्लो मात्रामा देखिए। जहाँ उनीहरूले महाविरलाई स्वेच्छिक रूपमा चुनावी खर्चका लागि आर्थिक सहयोग पनि गरे।

कार्यक्रममा पुन समाजले २ लाख ५० हजार र अन्य सहभागीले स्वेच्छिक रूपमा १ हजारदेखि १५ हजारसम्म गरेर करिब ५ लाख आर्थिक सहयोग गरेका थिए।

प्रकाशित: १ फाल्गुन २०८२ १६:०९ शुक्रबार

महावीर पुन