लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको छ।
बैठकले प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ।
त्यस्तै, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव नीता पोखरेल अर्याललाई तोकिएको छ। पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रशासन अधिकृत माधव शर्मालाई दिने निर्णय पनि बैठकले गरेको छ।
बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा कृष्णहरि सुवेदी र सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका (देउखुरी) मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरेको छ।
त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा प्रताप पोखरेलको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरिएको मन्त्री घिमिरेले जानकारी दिए।
प्रकाशित: १७ कार्तिक २०८३ १८:०३ मंगलबार





