परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको प्रभावकारी सम्बोधन र अन्तर्राष्ट्रिय मञ्चहरूमा मुलुकको सशक्त उपस्थितिका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
परराष्ट्र मन्त्रालयद्वारा आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज फोरम’ अन्तर्गत ‘जलवायु कूटनीति’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु बहुपक्षीय विषय भएकाले यसलाई सम्बोधन गर्न दह्रो संरचनात्मक आधार अपरिहार्य रहेको बताए।
सही संस्थाहरूको निर्माण गरी बहुपक्षीय निकायहरूसँग प्रभावकारी समन्वय गर्न सके मात्रै जलवायु परिवर्तनका मुद्दामा ठोस उपलब्धि हासिल हुने उनको भनाइ थियो।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) जस्ता मञ्चहरूमा एजेन्डा आउने-जाने क्रम चलिरहने उल्लेख गर्दै उनले भने, ‘नेपाललाई कस्तो संस्था चाहिन्छ र हामीले कुन अन्तर्राष्ट्रिय फोरममा आफूलाई कसरी बलियो रूपमा प्रस्तुत गर्न सक्छौं भन्ने विषय नै हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण हो।’
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घमा नेपालको सहभागिता तथा जलवायु परिवर्तनका विषयमा त्यहाँ प्रस्तुत गरिने रणनीतिक एजेन्डाबारे समेत गहन छलफल भएको थियो।
उक्त फोरममा जलवायु परिवर्तनका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कार्यरत विज्ञहरूले भाग लिएका थिए भने उनीहरूबाट नीतिगत सुधार र कूटनीतिक प्रभावकारिताका लागि आवश्यक परामर्श तथा सुझाव संकलन गरिएको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ २१:५२ बुधबार





