२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पास भइसकेको बजेट संशोधनको माग गर्दै गाउँपालिका कार्यालयमा ताला !

गाउँपालिकामा लगाइएको ताला । तस्बिर : उमेश बुढा

जुम्लाको सिँजा गाउँपालिकाकामा ताला लगाइएको छ। बुधबार बिहान १० बजेदेखि गाउँपालिकामा तालाबन्दी गरिएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट आफ्ना कार्यकर्ता पाल्ने गरि ल्याएको बजेट मान्य नहुने भन्दै चारजना वडाध्यक्षसहितको टोली गाउँपालिकाको विपक्षमा उभिएका छन्।

वडाध्यक्षको टोलीले तालाबन्दी गरेको हो। यो बजेट संशोधन नभएसम्म ताला नखुलाउने चेतावनी दिइएको छ। सिँजामा ६ वटा वडा छन्। जसमध्ये चार वटा वडाध्यक्ष विपक्षमा छन्। १ र ५ नम्बर वडा नेपाल काङ्ग्रेसले जितेको छ । दुई र तीन नम्बर माओवादीले जितेको छ। चार एमालेले जितेको छ। यस्तै ६ नम्बर वडामा नेमकिपाकाले जितेको छ। गाँउपाालिका अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको छ।  

अहिले माओवादी निकटका जनप्रतिनिधिले बहुमतको दम्भ देखाएर कार्यकर्तालाई मात्र पोस्नेगरी बजेट ल्याएको आरोप लगाएका छन्। ताला लागेपछि गाउँपालिकाको नियमित काम हुन सकिरहेको छैन।

गत असार ३१ गते पारित भएको बजेट संशोधन नहुँदासम्म ताला नखोल्ने १ नम्बरका वडाध्यक्ष हरिनन्द आचार्यले बताए। आन्दोलनरत पक्षले बजेटमा बहुमतको दम्भ देखाएको, समान बजेटको व्यवस्थापन हुन नसकेको, आफू निकट कार्यकर्तामुखी बजेट ल्याएको, टोलस्तरीय बजेटको व्यवस्था नभएको र सबै तहका शिक्षक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुन नसक्दा प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको आरोप लगाएको छ ।

उत्पादनमुलक बजेटको मागसहित आफूहरु आन्दोलनमा उत्रिएको सिँजा-५ का वडाध्यक्ष कृष्णबहादुर रोकायाले बताए। ‘पहिले सहमति अनुसार नै बजेट बनेको थियो,’ वडाध्यक्ष रोकायाले भने, ‘पछि माओवादीका नेता कार्यकर्ता बसेर आफू अनुकुलको कार्यकर्ता पाल्ने बजेट ल्याए ।अनि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्ने भयो ।’

‘बजेट बनाउनुअघि नयाँ सडक खन्दा गाउँपालिकाकै डोजर प्रयोग गर्ने, डोजरमा चाहिने तेलको प्रबन्ध गर्ने गरी बजेट ल्याउने सहमति थियो,’ सिँजा-६ का वडाध्यक्ष लालबहादुर बुढाले भने, ‘तर सडकको नाममा बजेट छुट्याइयो ।’  

उनीहरुले गाउँसभा बहिस्कार, सडकमा नाराबाजी गर्ने, विज्ञप्ति प्रकाशन, अल्टिमेटम सहितको ज्ञापनपत्र दिने कार्यक्रम गरेका थियौं।दैनिक आन्दोलन हुन थालेपछि उपाध्यक्ष सितली रोकायाको संयोजकत्वमा वार्ता समिति बनेको थियो ।  

उनीसँगै गाउँपालिकाका प्रवक्ता तथा सिँजा- २ का वडाध्यक्ष तीर्थ वड र ३ का वडाध्यक्ष सुरतबहादुर रावत सदस्य छन्। वार्ता समितिले भदौ ९ गते आन्दोलनरत पक्षसँग वार्ता बोलायो । तर वार्तामा धम्कीपूर्ण शब्दहरु प्रयोग गर्नेदेखि बजेटको पक्षधरले टेबुल ठट्याउने सम्मको काम गरेपछि आन्दोलित भएको ४ नम्बरका वडाध्यक्ष रन्जित बुढा बताउँछन्। उनले भने, ‘तँ,तँ, र म ,म भनाभन भयो, धन्न हात हालाहाल भएन।’

लोकतन्त्रमा विधिको शाशन हुनुपर्ने हो,त्यो भएन। पुर्वाग्रही तरिकाले लादन खोजिएको छ। गाउँपालिमा जनप्रतिनिधिबीचको विवाद भन्दा पनि नेकपा माओवादी केन्द्रका एकातिर र त्यो इतरका सबै दलका जनप्रतिनिधि अर्कोतिर उभिएका छन् । बजेट पारित गर्दा दुवै पक्षका १४/१४ जना मात्रै उपस्थित थिए ।

यता गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफू बजेटको पक्षमा उभिएको भनेपछि बजेट पारित गरेको थियो। सिँजा गाउँपालिकाको गाउँसभामा १८ जना माओवादी केन्द्र र १६ जना अन्य पार्टीका जनप्रतिनिधि छन्। आन्दोलनरत पक्षले नेपाली कांग्रेस गाउँपालिका समितिका सभापति गोविन्द शर्माको नेतृत्वमा ५ सदस्यीय संघर्ष समिति गठन गरेको छ। गाउँपालिका अध्यक्ष धिताल पास भइसकेको बजेटबारे संशोधनका लागि अब छलफल नहुने बताउँछन्।

प्रकाशित: ११ भाद्र २०८२ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App