श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको संसदीय जबाफदेहीतामाथि प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले सांसदहरूले उठाएका गम्भीर प्रश्नहरूको जबाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए।
उनले सरकार प्रमुखको भूमिका र सदनप्रतिको जिम्मेवारीबारे प्रश्न गर्दै भने, ‘यो सरकारको प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ? छ भने उहाँले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जबाफ नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो।’
उनले जनताले सरकारसँग डराएर बाँच्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भने, ‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने, यही हो त लोकतन्त्र ? यस्तो परिस्थितिमा प्रधानमन्त्रीले सदनमा उभिएर स्पष्ट पार्नुपर्ने दायित्व हुन्छ।’
बैठकमा सांसदहरूको न्यून उपस्थिति र रित्ता कुर्सीहरू देख्दा दुःख लागेको बताउँदै उनले संसदलाई केवल कर्मकाण्डमा मात्र सीमित नगर्न आग्रह गरे।
‘हामी एउटै गाडीका विभिन्न अंग जस्तै हौं, कोही गियर हौंला, कोही ब्रेक,’ उनले थपे, ‘तर आजको बहस को बढी जान्ने हुने र कसले कसलाई बढी आरोप लगाउन सक्ने भन्नेमा मात्र केन्द्रित देखियो।’
प्रकाशित: २९ वैशाख २०८३ १५:४९ मंगलबार





