नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले पार्टीमा विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर गरेकाहरूको भावनालाई उपेक्षा गर्न नहुने जिकिर गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य चौधरीले पार्टीभित्र सबैको भावना सम्बोधन नगरे आगामी निर्वाचनमा क्षति पुग्ने बताएका हुन्।
‘पार्टीमा अहिले विशेष र नियमित महाधिवेशनको बहस भइरहेको छ,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘दुवै बहस केन्द्रमा राखेर फागुन २१ को निर्वाचनअघि पार्टीको महाधिवेशन सुरु गर्नुपर्छ।
विशेष महाधिवेशन मागकर्ताको भावनालाई सम्बोधन गरेर बैठकले निकास दिनुपर्ने उनले बताए। ‘उहाँहरूलाई उपेक्षा गरेर जाँदा निर्वाचनमा पार्टीलाई क्षति पुग्न सक्छ,’ उनले भने। विशेष महाधिवेशन मागकर्तालाई बाहिर राखेर निर्वाचनमा जान नसकिने पनि उनले बताए।
प्रकाशित: २१ कार्तिक २०८२ २०:५१ शुक्रबार





