१४ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

उदयपुर कांग्रेसमा चुनावमार्फत नेतृत्व चयन

केही पदमा सर्वसम्मत

१५ औँ महाधिवेशनको चटारोमा रहेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा १ (ख) को नेतृत्व चयन गर्न चुनावी प्रक्रिया अपनाउनु परेको छ। सर्वसम्मतको निकै लामो प्रयास गरे पनि सफल नभएपछि चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्नु परेको पार्टीले जनाएको छ। 

निर्धारित मिति अनुसार १२ गते चयन गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व सर्वसम्मत नभएपछि चुनावी प्रक्रिया अपनाएर समिति चयन गरिएको पार्टीका जिल्ला प्रवक्ता नवीन राईले बताए। उनका अनुसार चुनावमार्फत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। त्यस्तै प्रदेशसभा (ख)को सभापतिमा सरोज बस्नेत चयन भएका छन्। 

१ हजार २४ मतदाता रहेको सो क्षेत्रमा सोमबार बिहान ५:०० बजेदेखि मतदान सुरु भएको थियो। प्रतिनिधिसभा र प्रदेशसभा दुवैको चौदण्डीगढी नगरमुकाम बेलटारस्थित एउटै केन्द्रमा गर्ने व्यवस्था भएको मतदान साँझ ५:०० बजेसम्म चलेको थियो। मध्य राति ११:३० बजेदेखि मात्र गणना थालिएको मत परिणामको घोषणा बिहान ४:०० बजे गरियो। 

घोषित मत परिणाम अनुसार सभापतिमा खगेन्द्र राईले खसेको ९ सय ३२ मतमध्ये ६ सय १८ मतका साथ विजयी भएको निर्वाचन अधिकृत अधिवक्ता ब्रह्मदेव चौधरीले बताए। उनका अनुसार प्रतिस्पर्धी राकेश खत्रीलाई २ सय ८४ मत पर्दा राई ३ सय ३४ बढी मतका साथ विजयी भएका हुन्। 

क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत ५ सय १५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी अम्बिका निरौलालाई ३ सय ४१ मत परेको छ। निरौलाभन्दा १ सय ७४ मत बढी मत ल्याउँदै बस्नेत सहसचिव विजयी भएका हुन्।  

त्यसैगरि प्रदेशसभा १ (ख) को सभापतिमा सरोज बस्नेत ३ सय ४३ मतका साथ विजयी भएका छन्। जम्मा ५ सय १६ मतदाता रहेको सो क्षेत्रमा ४ सय ९४ मत खसेकोमा बस्नेतका प्रतिस्पर्धी नरेन्द्र थापालाई १ सय ३० मत परेको निर्वाचन अधिकृत चा्ैधरीले बताए। चुनावमार्फत नै प्रदेशसभा (ख) दलित प्रदेश प्रतिनिधिमा कल्पना मोते २ सय ९४ मतका साथ विजयी भइन् भने उनका प्रतिस्पर्धी अनुपम शिवालाई १ सय ४२ मत परेको छ। 

उदयपुर १ को क्षेत्रीय सभापति, सहसचिव र प्रदेशसभा (ख) अन्तर्गत सभापति र दलित प्रतिनिधिका लागि मात्र चुनाव गराउनु परेको पार्टीले जनाएको छ। अन्य पदहरू भने सबै सर्वसम्मत चयन भएको पार्टीले जनाएको छ। पार्टी प्रदेशसभा (क)को क्षेत्रीय सभापतिमा भने यसअघि नै अर्जुन दाहाल सर्वसम्मत सभापति चयन भएका थिए।

उता प्रतिनिधिसभा २ मा भने संघ र प्रदेशका २ गरी ३ वटै सभापतिसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। प्रतिनिधिसभा २ मा खेसबहादुर मगर सभापति चयन हुँदा प्रदेशतर्फ (क) मा प्रह्लाद कार्की र (ख) को सभापतिमा सुविन ढुंगाना सर्वसम्मत भएको पार्टीले जनाएको छ। 

संघीय सभापति चयन भएका मगर यसअघिकै सभापति हुन् भने प्रदेशतर्फ (ख) का सभापति रामकुमार खत्रीलाई सँस्थापत इतर (देउवा) समूहमा लागेको आरोपमा केही समयअघि पार्टीले निलम्बन गरेको थियो। उनको ठाउँमा ढुंगानाले मौका पाएका हुन्। 

प्रतिनिधिसभातर्फ उदयपुरका दुवै निर्वाचनक्षेत्रका सभापति यसअघि पनि सभापति थिए। १ का खगेन्द्र राई सभापतिमा दोहोरिँदा २ मा मगर दोहोरिएका हुन्। प्रदेशसभातर्फ पनि १ र २ का क्रमशः दाहाल र बस्नेत पनि सभापतिमा दोस्रो कार्यकाल सुरु गरेका हुन्।

प्रकाशित: १३ आश्विन २०८३ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App