नेपाली कांग्रेस इतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व पुस्तान्तरण नहुने बताएका छन्। नेपाली कांग्रेस इतर पक्षले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा नेतृत्व हस्तान्तरण नभई पुस्तान्तरण हुने बताएका हुन्।
जेठी आन्दोलनपश्चात् सबै दलहरूमा नेतृत्व पुस्तान्तरणको माग भइरहँदा महतले भने नेतृत्व पुस्तान्तरणलाई ठाडै इन्कार गरे। राजनीति आवश्यकताको सिद्धान्तले चल्ने भन्दै उनले लोकतन्त्रमा जनताले जुन उमेरको आवश्यकता ठान्छन्, त्यही उमेरको व्यक्तिलाई नेतृत्व हस्तान्तरण हुने उनको भनाइ थियो।
कसैले यसलाई बनाइदेऊ भनेर बन्ने होइन भन्दै उनले अगाडि भने, ‘त्यसकारण नेतृत्व हस्तान्तरण हुन्छ, पुस्तान्तरण हुँदैन। अनि त्यो हस्तान्तरण युवामा पनि हुन सक्छ। प्रौढ नेतृत्वमा पनि हुन सक्छ।’ जनताले अहिले पनि प्रौढलाई नै नेतृत्व दिन चाहिरहेको उनले दाबी गरे।
महतले जनताको मतबाट निर्वाचित नेतृत्वलाई मैले भनेअनुसारको उमेरको मान्छे भएन भनेर नेतृत्व मान्दिनँ भन्न नपाइने बताए। निर्वाचनबाट चुनिने विषयमा कसैले फलानो एजको मात्रै निर्वाचित गरौँ भने ठीक छ होइन् भने मान्दिनँ भन्न मिल्छ? उनले भने, ‘मोदी कति वर्षका भए? ट्रम्प? अनि चीनमा कति वर्षका छन्?’ उनले पार्टीमा कार्यकर्ता आम चुनावमा जनताले ६० वर्ष, ७० वर्ष वा ३५ वर्षको जसलाई चुने पनि मान्नुपर्नेमा जोड दिए।
नेता महतले गत भदौ २३ र २४ गते जसरी नियोजित रूपमा आन्दोलन र आगजनी भएको थियो, त्यसैगरी पार्टीमा पनि विशेष महाधिवेशन भएको आरोप लगाए। जेनजीलाई मुखौटा बनाएर राज्य संरचनाहरू संसद्, सिंहदरबार, अदालतलगायत जलाइएको उनको आरोप छ। त्यस्तै, पार्टीमा पनि गुटहरूलाई मुखौटा बनाएर पार्टी सक्ने काम भएको उनले टिप्पणी गरे।
‘जसरी अरूले कार्बन उत्सर्जन गर्दा आज हाम्रो देशले जलवायु परिवर्तनका कारण अप्ठ्यारो भोग्नुपरिरहेको छ,’ उनले थपे, ‘त्यसरी नै अरूले गरेको अस्वाभाविक र अप्राकृतिक योजनामा भदौ २३ र २४ को घटना भयो। अनि पार्टी पनि विशेष महाधिवेशनको बहानामा ध्वस्त बनाइयो।’
महतले सत्यको मुख बन्द हुँदा झूटो स्थापित भइरहेको बताए। हिसाबकिताबको राजनीति भइरहेको छ। निष्ठाको, आदर्शको राजनीति स्खलित भइरहेको छ। बीपी कोइरालाले भनेको वाक्य उद्धृत गर्दै उनले भने, ‘सत्यको मुख बन्द भएपछि झूटो स्थापित भएको छ देशमा पनि र पार्टीमा पनि।’
उनले बुझेकाहरूले पनि बोल्न हिच्किचाइरहेको गुनासो गरे। आफूहरू सत्यको पक्षमा उभिएको बताउँदै उनले आग्रहपूर्ण स्वरमा भने, ‘अब तपाईंहरू पनि बोल्नुस्। नत्र झूटो स्थापित हुन्छ।’
महतले सर्वोच्च अदालतले आफूहरूकै पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे। यसअघिको फैसला त्रुटिपूर्ण भएकै कारण सर्वोच्चले हामीलाई निस्सा दिएको भन्दै उनले भने, ‘निस्सा दिएसँगै देशमा अझै न्याय मरेको रहेन भन्ने आशा पलाएको छ। हामीलाई विश्वास छ कि अब फैसला पनि हाम्रै पक्षमा आउँछ।’
उनले बिहीबारदेखि आफूहरूको महाधिवेशन प्रक्रिया सुरु हुने भएकाले सहभागी हुन आह्वानसमेत गरे।
प्रकाशित: १४ आश्विन २०८३ २०:०९ बुधबार





