शीतल निवासमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोहमा शुक्रबार फरक दृश्य देखिएको छ । विगतमा प्रधानमन्त्रीको शपथ कार्यक्रममा कामचलाउ सरकारका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुसहित राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति हुने गरेपनि शुक्रबार यस्तो दृश्य देखिएन ।
शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु कसैको पनि उपस्थिति देखिएन । जेनजीको आन्दोलनबाट त्रसित देखिएका नेताहरुको अनुपस्थितिले कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनमा असन्तुष्टि दर्शाएको छ ।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानन्यायाधीशको मात्र उपस्थिति थियो ।
जेनजीको आन्दोलनमा समर्थन गरिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, रास्वपाकी नेता सुमना श्रेष्ठलगायत पनि शपथ कार्यक्रममा गएनन् । विभिन्न मन्त्रालयका सचिवहरु, केही कुटनीतिक निकायका प्रतिनिधिहरुमात्र शपथ कार्यक्रममा उपस्थित रहेका थिए ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शपथ गराएपछि शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले देश बचाउने जिम्मेवारी आएको बताएका थिए । यसमा सफल बन्न उनको शुभकामना थियो ।
प्रकाशित: २७ भाद्र २०८२ २२:१४ शुक्रबार





