सभामुख डोलप्रसाद (डीपी) अर्यालले समयको गति, नवीन प्रविधि र बदलिँदो सामाजिक आवश्यकताका आधारमा कानुन निर्माण गरिनुपर्ने बताएका छन्।
नागरिकका बदलिँदा अपेक्षालाई सम्बोधन गर्न कानुनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिएका छन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित ‘संहिता दिवस, २०८३’ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन निर्माणसँगै त्यसको कार्यान्वयन अवस्थाको अध्ययन, समीक्षा र आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन एवं संसदीय निगरानी गर्ने जिम्मेवारी सङ्घीय संसद्को रहेको सुनाए।
सङ्घीय संसद् कानुन निर्माण गर्ने थलो मात्र नभई कानुनको प्रभावकारिता तथा कार्यान्वयनको समीक्षा गर्ने र नागरिकका आवश्यकता एवं आकाङ्क्षाअनुरूप कानुनमा आवश्यक सुधार गर्ने प्रमुख संस्था भएको सभामुख अर्यालले उल्लेख गरे।
कानुन निर्माण र यसको सफल कार्यान्वयन कुनै एक संस्था वा निकायको मात्र जिम्मेवारी नभएको बताउँदै सभामुख अर्यालले भने, ‘व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, कानुन व्यवसायी, राष्ट्रसेवक कर्मचारी, प्राज्ञिक क्षेत्र, नागरिक समाज र आम नागरिकबीचको निरन्तर संवाद, सहकार्य र समन्वयबाट मात्र न्यायपूर्ण र प्रभावकारी कानुनी प्रणाली निर्माण गर्न सकिन्छ।’
कानुन नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने मुख्य माध्यम भएकाले यसको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने उनको धारणा थियो।
कानुनको गुणस्तरसँगै न्यायिक तथा प्रशासनिक संस्थाहरूको सुदृढीकरण र नागरिकमा कानुनी सचेतना अभिवृद्धि हुनुपर्नेमा उनले जोड दिए। यसका साथै कानुनको भाषा सरल, स्पष्ट र आम नागरिकले व्यवहारमा सहजै प्रयोग गर्न सक्ने खालको हुनुपर्ने उनले बताए।
कानुनी प्रावधानहरूले जात, धर्म, लिङ्ग, वर्ग वा अन्य कुनै पनि आधारमा हुने विभेदको अन्त्य गर्दै प्रत्येक व्यक्तिको मौलिक हक, स्वतन्त्रता र मानव अधिकारको सम्मान तथा संरक्षण सुनिश्चित गर्नुपर्ने सभामुख अर्यालले उल्लेख गरे।
मुलुकी देवानी संहिता र मुलुकी अपराध संहितालगायतका संहिताहरू लागू हुनु नेपालको कानुनी इतिहासकै महत्त्वपूर्ण उपलब्धि भएको स्मरण गर्दै उनले यी संहिताहरूले नेपालको देवानी तथा फौजदारी कानुनलाई समयानुकूल, व्यवस्थित र आधुनिक बनाउँदै न्याय प्रणालीलाई थप सुदृढ गर्ने बलियो आधार तयार गरेको बताए।
प्रकाशित: १ भाद्र २०८३ १८:२० सोमबार

