सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको सभापतिमा चित्रकुमार कार्की विजयी भएका छन्।
प्रथम जिल्ला अधिवेशनअन्तर्गत सोमबार साँझदेखि भएको निर्वाचनको मत परिणाम मंगलबार बिहान घोषणा भएअनुसार कार्की प्यानलै निर्वाचित भएका हुन्।
स्थापनाकालका सभापति कार्कीलाई अधिवेशनबाट नेतृत्वमा दोहोर्याउने प्रयास गरिए पनि जनक बस्नेत प्यानलले चुनावी चुनौती दिएपछि बन्द सत्र निर्वाचन प्रक्रियामा धकेलिएको थियो। आइतबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास विवादमा परिणत भएपछि स्थगित भएको अधिवेशन १८ घण्टापछि सोमबार दिउसोदेखि सुचारु भएको थियो।
विवादका कारण सबै निर्वाचन तालिका रुद्ध गरी नयाँ निर्वाचन कार्यतालिका बनाएर चुनावी प्रक्रिया अपनाउँदै अधिवेशन सम्पन्न गरेको निर्वाचन समिति संयोजक नारायण घिमिरेले बताए। मतदान प्रक्रियाबाट कार्की १ सय १३ मत पाएर विजयी भए भने बस्नेत ८१ मतमा सीमित रहे। उपसभापतिमा किरण राउत १ सय १ मतले जित्दा कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत पाइन्।
त्यसैगरि सचिवमा सूर्यबहादुर लामा ९६ मत पाएर जितेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सांसदसमेत रहेका लामाका निकटतम प्रतिद्वन्द्वी भुवन खतिवडाले ७५ मत पाए भने अर्का प्रत्याशी जनार्दन कार्कीलाई २० मत प्राप्त भएको समितिले जनाएको छ। सूर्यबहादुर राई १ सय ११ मत लिएर सहसचिव विजयी हुँदा उनका प्रतिद्वन्द्वी हुकुममणि पाण्डेले ८२ मत पाए।
सदस्य निर्वाचित हुनेमध्ये सबभन्दा बढी १ सय ३८ मत कौशिला कार्कीले पाएर विजयी भइन्। अन्य सदस्यमा अम्बरबहादुर तामाङ, गुरुदेव कार्की र हेमकुमारी चौधरी विजयी भएका छन् ।तेजमान बिक र झरना गहतराज भने समावेशीतर्फ सदस्यमा निर्विरोध चयन भएका छन्।
अधिवेशनबाट क्षेत्र नं. १ को सभापतिमा उद्धव अधिकारी ५९ मत दिँदै विजयी भए भने श्यामकुमार कार्कीले ५५ मत मात्र पाए क्षेत्र नं. १ को उपसभापति द्वयमा (क) बाट पवन कार्की र (ख) बाट वासु थापा निर्विरोध भएका छन्।
त्यसैगरि क्षेत्र नं. २ को सभापतिमा सामर्थ्य थापा ५५ मत पाएर विजयी हुँदा मीनबहादुर खड्का १७ मतमै चित्त बुझाउन बाध्य भए। उपसभापतिमा ५० मत लिएर दिनेश कार्की विजयी हुँदा पूर्णकुमारी राउतलाई २३ मत प्राप्त भयो।
आइतबार सभापतिलगायत नेतृत्वका आकाङ्क्षीहरूले उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि विवाद उत्पन्न भई मुठभेडमा परिणत हुन लागेपछि अधिवेशन स्थगित गरिएको थियो। लामो छलफलपछि निर्वाचन प्रक्रिया अनुसार नेतृत्व चयन गर्ने सहमति जुटाउँदै सोमबार दिउसो सुचारु भएको थियो।
त्रियुगा नगर सभापति उत्तम रिजालका अनुसार जिल्लाभरि रास्वपा अधिवेशनका लागि २ सय ५८ प्रतिनिधि चयन भएका थिए। तर, अधिवेशन स्थगित भएपछि घर फर्केका कतिपय अनुपस्थित भए भने कतिपय कार्यक्रममै सहभागी नभएकाले १ सय ९८ मत मात्र खसेको थियो।
८ स्थानीय तह रहेको उदयपुरमा भौगोलिक प्रतिनिधित्वको हिसाबले त्रियुगा नगरपालिकाले सभापति र ३ सदस्यसहित ४ जना पाएको छ। कटारी नगरपालिकाले सचिव र १ सदस्य गरी २ जना, बेलका नगरपालिका सहसचिवसहित १ सदस्यको प्रतिनिधित्व भएको छ। त्यसैगरि रौतामाई गाउँपालिकाले उपसभापति पाउँदा चौदण्डीगढी नगरबाट पराजित सभापतिसहित २ सदस्य परेका छन्।
सभापतिका प्रत्यर्थी ३२ प्रतिशत बढी मत प्राप्त गरेपछि स्वतः जिल्ला सदस्य हुने रास्वपाको विधानमा उल्लेख छ। जस अनुसार सभापतिका पराजित बस्नेत चौदण्डीगढीका भएकाले उनीसहित २ जना सदस्य सो स्थानीय तहबाट प्रतिनिधित्व गर्न पुगेका छन्।
बाँकी स्थानीयतहहरु लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकाबाट जिल्ला समितिमा प्रतिनिधित्व शून्य भएको छ।
नवनिर्वाचित कार्यसमितिलाई मंगलबार बिहान ११ः०० वजे अधिवेशन स्थल त्रियुगा नगरपालिका ३ मोतिगडास्थित होटल इम्पायरकै सभाकक्षमा शपथ गराइएको रिजालले बताएका छन्।
प्रकाशित: २६ जेष्ठ २०८३ १३:२३ मंगलबार





