नेपाली कांग्रेसको असन्तुष्ट पक्षका नेता कान्छाराम तामाङले पैसा तिर्नुपर्ने व्यक्तिलाई नतिरेको विषयमा परेको मुद्दामा आज जिल्ला अदालत लमजुङमा सुनुवाई हुन लागेको छ।
कान्छाराम तामाङ भनिने पूर्णबहादुर तामाङका विरुद्ध परेको चेक अनादर सम्बन्धी मुद्दामा सुनवाई हुन लागेको हो।
व्यावसायिक कारोबारका क्रममा तिर्नुपर्ने रकम नतिरेर पीडितलाई झुलाउँदै आएका तामाङविरुद्ध परेको चेक अनादर मुद्दाको पेसी आजका लागि तोकिएको हो।
कान्छाराम नाना जे. भीका प्रोप्राइटर पूर्णबहादुर तामाङ सहित दुईजना विरुद्ध पैसा नतिरेको र चेक नसाटिएको मुद्दा परेको छ।लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर रेवन श्रेष्ठको तर्फबाट कान्छाराम विरुद्ध मुद्दा दर्ता भएको छ।
तिर्नुपर्ने रकम पटक–पटक ताकेता गर्दा पनि नतिरेको र उल्टै खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्याएको भन्दै पीडित पक्षले तामाङमाथि प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही र बिगो असुलउपरको माग गरेको छ।
पार्टीभित्र विधान र नैतिकताको चर्को भाषण गर्दै असन्तुष्ट समूहको अग्रपङ्क्तिमा उभिने तामाङको आफ्नै व्यावसायिक र आर्थिक आचरण भने अदालतको कठघरामा पुगेको छ।
प्रकाशित: १० मंसिर २०८३ ११:४७ बिहीबार





