जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दाउपेचका कारण जसपा नेपालका जनप्रतिनिधिले पद गुमाउनु परेको आरोप लगाएका छन्।
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्तबारे टिप्पणी गर्दै बस्नेतले तत्कालीन समयमा सरकारको नेतृत्व गरेका कमरेड प्रचण्डकै कारण जसपा नेपालको विभाजन भएको र उनकै राजनीतिक स्वार्थका कारण अहिले कतिपय स्थानीय तह जनप्रतिनिधि बिहीनको अवस्थामा पुगेको उनको टिप्पणी छ।
नेपाली कांग्रेसमा देखिएको पछिल्लो राजनीतिक किचलो र विगतमा जसपा नेपालको विभाजनलाई सत्ता राजनीतिको प्रभावबाट अलग राखेर हेर्न नसकिने उनको भनाइ छ।
बस्नेतले भने, ‘राजनीतिक दललाई कमजोर बनाउने, विभाजनलाई राजनीतिक अस्त्र बनाउने र आफूअनुकूल समीकरण निर्माण गर्ने प्रवृत्तिले नेपाली राजनीतिलाई विकृत बनाउँदै लगेको छ। यस्तो प्रवृत्तिले पार्टीको संगठन मात्र कमजोर बनाउने नभई लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता, जनताको मत, जनादेश र जनप्रतिनिधिको राजनीतिक भविष्यसमेत असुरक्षित बनाउँछ।’
जनताको मतबाट निर्वाचित प्रतिनिधिहरु राजनीतिक स्वार्थ, पद र अवसरका लागि दल परिवर्तन गर्ने वा राजनीतिक प्रतिबद्धताबाट विचलित हुने प्रवृत्तिको उनले आलोचना गरेका छन्। सत्ता नेतृत्वको दल विभाजनकारी दाउपेच र जनप्रतिनिधिको पद तथा अवसरमुखी राजनीतिक प्रवृत्तिले नेपाली राजनीतिलाई संकटतर्फ धकेल्ने उनको भनाइ छ।
प्रकाशित: ४ मंसिर २०८३ १२:०५ शुक्रबार


-600x400.jpg)


