नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’को संज्ञा दिएका छन्।
पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले अहिले मुलुकको सत्ता त्यही वर्गको प्रतिनिधिको हातमा पुगेको दाबी गरे।
उनका अनुसार २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा हेर्ने गरिएकोमा अहिले रास्वपा त्यही भूमिकामा अघि आएको छ। कम्युनिस्ट शक्तिका लागि रास्वपा मुख्य वर्गीय प्रतिद्वन्द्वी बनेको उनको भनाइ थियो।
खनालले वर्तमान सरकारका आर्थिक नीति, नीति तथा कार्यक्रम र बजेटले तल्लो वर्गका जनताको हितभन्दा सीमित माथिल्लो वर्गलाई फाइदा पुर्याएको आरोप लगाए। जनतामाथि करको भार बढाइएको र राज्यका आर्थिक नीतिहरू सीमित वर्गको हितमा केन्द्रित भएको उनको दाबी थियो।
पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजयलाई सामान्य रूपमा लिन नहुने पनि खनालले बताए। नेतृत्वका कमजोरी र विगतका राजनीतिक गल्तीका कारण कार्यकर्ता तथा समर्थकमा असन्तुष्टि बढेको र त्यसको लाभ अन्य शक्तिले उठाएको उनको विश्लेषण थियो।
निर्वाचनमा पराजयको मुख्य कारण बाह्य शक्तिको प्रभाव नभई कम्युनिस्ट नेतृत्वकै कमजोरी रहेको उनको भनाइ थियो।
वर्तमान सरकारले सुकुमबासी, विद्यार्थी, मजदुर र पत्रकारका समस्या समाधान गर्न नसक्ने दाबी गर्दै खनालले राजनीतिक परिस्थितिअनुसार कम्युनिस्ट शक्तिले आफ्नो मुख्य प्रतिद्वन्द्वीको पहिचान परिवर्तन गर्दै आएको बताए।
उनले विगतका कमजोरी सच्याउँदै सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान गरे। कम्युनिस्ट शक्तिहरू नयाँ ढङ्गले समाजवादी रूपान्तरणको आन्दोलनमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: ६ भाद्र २०८३ १८:१४ शनिबार





-600x400.jpg)