जिल्ला समन्वय समिति ताप्लेजुङको ९ औँ जिल्ला सभाले ताप्लेजुङमै रहनेगरी खानेपानी कार्यालय माग गर्ने देखि फुङलिङदेखि मिक्वाखोलामा रहेको फुङफुङ्गे झरनासम्म कालोपत्रे गर्ने सहितका निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जिल्ला सभाबाट पारित भएका विषय संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिने जानकारी दिए । ताप्लेजुङमा खानेपानी कार्यालयको काम अहिले पाँचथरमा रहेको कार्यालयबाट हुँदै आएको छ ।
सभाले सुकेटार विमानस्थलमा उत्तर र दक्षिण दुवैतर्फबाट विमान अवतरण गर्न सक्नेगरी विमानस्थल विस्तार, सुधार र व्यवस्थापनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङलाई अलैंचीको सुपरजोन कार्यक्रम कार्यान्वयन गर्ने जिल्लाको रूपमा रूपान्तरण गर्न समेत प्रदेश सरकारसमक्ष सिफारिस गर्नेगरी सभाले निर्णय गरेको छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको रूपमा परिचित छ । तर, यहाँ अलैंची जोन मात्र रहेको छ ।
खोला तथा नदी किनारका बस्ती दोभान, याम्फुदिन, थिवा तथा चिरुवा बस्ती नजिक ठूला पहिरोका सीमाना लगाउन समेत सभाले संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जिसस प्रमुख लामाले जानकारी दिए ।
सभाले ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीमा अहिले रहेको नयाँ पक्की पुल छेउमा प्रवेशद्वार निर्माणको प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको छ ।
जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको संस्थागत विकास र संघीयताको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता रहेको औँल्याए ।
थेबेले जनप्रतिनिधिका हिसाबले आफूले ताप्लेजुङको विकास र समृद्धिको अभियानका मुद्दाहरूमा निरन्तर पैरवी र पहल गर्दै आएको बताए ।
कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन, जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं सहितले ९ औँ जिल्ला सभा सफलताको शुभकामना दिएका थिए ।
प्रकाशित: १६ असार २०८३ १६:१७ मंगलबार




