४ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

जय नेपाल पार्टीको निर्णय: देशैभर संवैधानिक राजसंस्थाको पक्षमा जनमत निर्माण गर्ने

असोजभित्र सबै जिल्लामा तदर्थ समिति र भ्रातृ संगठन बनाउने

जय नेपाल पार्टी (प्रस्तावित) ले पहिलो केन्द्रीय कार्यसमिति बैठक सम्पन्न गर्दै संगठन विस्तारदेखि संविधान संशोधन, गौसंरक्षण, प्रवासी नेपालीको मताधिकार र आगामी स्थानीय तह निर्वाचनसम्मका विषय समेटेर १० बुँदे निर्णय सार्वजनिक गरेको छ।

सभापति डा. धवलशम्सेर राणाको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले भदौ र असोजभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको छ। त्यसका लागि केन्द्रीय सदस्यहरूलाई समावेश गरी टोली परिचालन गरिने पार्टीले जनाएको छ।

भदौभित्र युवा, महिला तथा जेन–जीसहितका जनवर्गीय संगठन, विभाग र समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय पनि गरेको बैठकपछि सार्वजनिक सभापति डा. धवलशम्सेर राणाले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

पार्टीले संविधान निर्माणका क्रममा जनताबाट प्राप्त सुझावलाई सम्बोधन गर्नुपर्ने भन्दै संविधान संशोधनका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अभियानमार्फत संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत निर्माण गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ।

गौ संरक्षणलाई पनि पार्टीले आफ्नो प्राथमिकतामा राखेको छ। बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र सातै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माणका लागि राज्यलाई दबाब दिने निर्णय गरेको छ। अभियान तथा प्रदर्शनको नेतृत्व जनवर्गीय संगठनहरूले गर्ने जनाइएको छ।

त्यस्तै, पार्टी सदस्यता अनलाइनबाट लिन सकिने गरी भदौभित्र विद्युतीय प्रणाली निर्माण गर्ने निर्णय भएको छ। पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने निर्णय गर्दै पार्टीले विचार मिल्ने राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउन वार्ता समिति गठन गर्ने जनाएको छ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैगरी, स्थिर र समुन्नत नेपाल निर्माणका लागि पार्टीको नीति, विचार र लक्ष्यअनुसार मार्गचित्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदलले स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयगत विज्ञ नेपालीहरूको सहयोग र परामर्श लिने पार्टीले जनाएको छ।

जय नेपाल पार्टीले सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई आधारशिला मानेर हिमाल, पहाड र तराईलाई एकसूत्रमा बाँध्दै राष्ट्रिय एकता, स्थिरता र समुन्नतिको लक्ष्य अघि बढाउने जनाएको छ।

प्रकाशित: ४ भाद्र २०८३ १८:२४ बिहीबार