१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

आईजीपी विवादमा निश्कल भन्छन् : विगतमा भएका क्रमभंगता पनि गल्ती थियो, हालको पनि गलत छ

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय कुनै व्यक्तिको मात्र नभई राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको विषय भएको बताएका छन्। 

सांसद राईले विगतमा भएका विधि र प्रक्रिया मिच्ने घटनाहरू पनि गलत भएको र अहिले भइरहेको गतिविधि पनि गलत भएको बताएका छन्। ‘विगतमा भएका क्रमभंगता पनि गल्ती थियो, हालको पनि गलत छ,’ उनले भनेका छन्। 

प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूको नाम जोडिएका पछिल्ला घटनाक्रम, राज्यका निकायको सम्भावित दुरुपयोग तथा प्रहरी महानिरीक्षक हटाउने निर्णयले गम्भीर प्रश्न उठाएको उनको भनाइ छ। ती प्रश्नको जवाफ राजनीतिक आरोप–प्रत्यारोपबाट नभई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानबाट खोजिनुपर्ने उनले बताएका छन्। 

‘प्रहरी संगठन कुनै व्यक्ति वा सरकारको निजी संयन्त्र होइन, यो संविधान र कानुनप्रति उत्तरदायी राज्यको संस्था हो,’ राईले भनेका छन्। 

प्रहरी नेतृत्व परिवर्तनलगायत प्रशासनिक निर्णय गर्दा सत्ता स्वार्थ र राजनीतिक सुविधाभन्दा कानुन, विधि र स्थापित संस्थागत प्रक्रियालाई आधार बनाउनुपर्ने उनको जोड छ। 

‘राज्यका निकायहरू विधि र संविधानअनुसार चलिरहेका छन् कि सत्ता सञ्चालनको स्वार्थअनुसार प्रयोग भइरहेका छन् ? प्रश्न यहाँ हो,’ उनले भनेका छन्।  

सरकारले भय र भ्रमको वातावरण सिर्जना गर्नुको सट्टा विधि र विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउँदै राईले राज्य संयन्त्रलाई राजनीतिक स्वार्थको साधन बनाउने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका छन्।  

प्रकाशित: १९ कार्तिक २०८३ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App