प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पछिल्लो प्रविधिका चुनौतीदेखि जनताले भोगिरहेका समस्याको उचित व्यवस्थापनसम्मका विषय उठाएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धिलगायत विषयमा धारणा व्यक्त गरे।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खुुस्बु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को तीव्र विकासमा अवसरसँगै चुनौती पनि देखिएको बताइन्। एआईले जनताको चाहना पहिचान गर्न सक्ने तर मानवीय जवाफदेहिता दिन नसक्ने उनको भनाइ थियो।
‘एआईलाई मान्छेको विकल्प होइन, हाम्रो क्षमता बढाउने साधन मात्रै बनाउनुपर्छ,’ उनले भनिन्। नेपाली कांग्रेसका सांसद बासना थापाले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजीसम्बन्धी जिल्लागत र व्यक्तिगत विवरण सार्वजनिक गर्न सरकारसँग माग गरिन्।
नेकपा एमालेका सांसद विष्णुमाया विकले अघिल्लो राजनीतिक नेतृत्वले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताइन्।नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात गर्दै कार्यसम्पादन गर्न आग्रह गरिन्।
श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभामा अरुण तेस्रो परियोजनाको मुख्य सुरुङ निर्माण गर्ने क्रममा हाइड्रो कम्पनी र स्थानीयबीच धेरै वर्षअघि भएको सम्झौता अहिलेसम्म कार्यान्वयन नभएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल सरकारले स्थापना गरेको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा अपारदर्शिता देखिएको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरिन्।
रास्वपाका सांसद श्रीराम न्यौपानेले जलस्रोतको उचित सदुपयोग गर्दै देशको समृद्धि र विकासमा जोड दिनुपर्ने धारणा राखे।
कांग्रेसका सांसद नीनुकुमारी कर्णले जनकपुर विमानस्थलको स्तरोन्नतितर्फ विशेष ध्यान दिन सरकारसँग आग्रह गरिन्। एमालेका सांसद चन्देश्वर मण्डलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गर्नु उचित नभएको बताए।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो महँगी, कालोबजारी र असुरक्षित यातायात हुन नदिन सरकारको ध्यानाकर्षण गराइन्।
रास्वपाका सांसद आकृति अवस्थीले जेनजी आन्दोलनमा सहभागी भएका निर्दोष नागरिकलाई यथाशीघ्र न्याय दिनुपर्ने बताइन्।कांग्रेसका सांसद भरतबहादुर खड्काले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताए।
एमालेका सांसद टुकाभद्रा हमालले अलैँची खेती र त्यसको मूल्यमा आएको गिरावटले किसानलाई मर्का परेको बताउँदै अलैँचीको विश्वबजार विस्तारका लागि सरकारलाई तत्काल कूटनीतिक पहल गर्न माग गरिन्।
रास्वपाका सांसद मनिष खनालले विद्यालयमा विद्यार्थी टिकाइराख्न सरकारले आवश्यक कदम यथाशीघ्र चाल्नुपर्ने सुझाव दिए। एमालेका सांसद एसुदाकुमारी बरालले राज्यको स्रोत र पहुँचबाट कर्णाली प्रदेशलाई वञ्चित नगर्न आग्रह गरिन्।
रास्वपाका सांसद राजन गौतमले व्यवस्था होइन, अवस्था सुधार्न जेनजी पुस्ता उदाएको बताए। रास्वपाका सांसद शम्भुप्रसाद ढकालले पछिल्लो राजनीतिक नेतृत्वले विगतमा गरेका गल्ती सच्याएर जनताको हितमा समर्पित हुनुपर्ने धारणा राखे।
रास्वपाका सांसद रञ्जु न्यौपानेले काठमाडौँमा नयाँ ट्याक्सी दर्ता बन्द भएको र ट्याक्सी श्रमिकलाई अन्याय भएको विषयमा ध्यानाकर्षण गराइन्। रास्वपाकी सांसद कामिनी कुमारीले महोत्तरीको गौशाला नगरपालिका–५, कित्ता नम्बर ११५ मा बसोबास गर्दै आएका स्थानीय समस्यामा परेकाले उचित बासस्थानको व्यवस्था गर्न माग गरिन्।
बैठकमा सांसदहरू श्रीधर पोखरेल, रुवीना आचार्य, सागर भुसाल र प्रकाश पाठकले समेत नागरिकका समसामयिक विषयमा आ–आफ्नो धारणा राखे।
प्रकाशित: १५ आश्विन २०८३ १५:५९ बिहीबार





-600x400.jpg)