भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्ता पठाइएको बताएका छन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरी भ्रमणका क्रममा दुई देशबीच द्विपक्षीय हित र चासोका विभिन्न विषयमा छलफल हुने जानकारी गराइएको जैसवालले बताए।
‘हाम्रा राजदूतले त्यहाँका प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ। यस भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हित र चासोका विविध मुद्दाहरूमा छलफल भएको छ,’ जैसवालले भने।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा दिइसकेको जैसवालले बताए।
परराष्ट्रमन्त्री शिशिर खनालले सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति फेला नपरेको विषयमा दिएको अभिव्यक्तिबारे पत्रकारले जैसवाललाई प्रश्न गरेका थिए। जवाफमा जैसवालले सन्धिको सक्कल प्रति कहाँ छ भन्ने विषयमा ठोस जवाफ नदिई नेपाल–भारत सम्बन्ध र द्विपक्षीय संयन्त्रबारे बताए।
‘भारत र नेपालबीच सम्बन्ध राम्रो छ। केही कुरामा सहमति नबनेका हुन सक्छन् । तर जुनसुकै विषयमा वार्ताको एउटा ढाँचा छ र दुवै पक्ष बसेर कुराकानी गर्न सक्छौँ,’ उनले भने।
प्रकाशित: २६ श्रावण २०८३ १८:१५ मंगलबार



-600x400.jpg)

