खोटाङका उम्मेदवार हरि रोकालाई प्रतिनिधिसभा सदस्य निर्वाचित गराउन राजधानी काठमाडौंमा सहयोग समिति गठन भएको छ। आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका रोकालाई जिताउन समिति गठन भएको हो।
खोटाङ स्थायी घर भई काठमाडौंमा विभिन्न पेसाव्यवसाय गर्दै आएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र समूहका व्यक्तिहरूको सम्पन्न भेलाले १०१ सदस्यीय ‘हरि रोका जिताऊ स्वतन्त्र सहयोग समिति’ गठन गरेको हो।
अर्थशास्त्री तथा बौद्धिक व्यक्तित्व रोकालाई खोटाङबाट यसपटकको प्रतिनिधिसभा सदस्यमा विजयी गराउने उद्देश्यले पूर्वप्रधानाध्यापक गणेश अधिकारीको संयोजकत्वमा १ं१ सदस्यीय समिति गठन भएको हो।
संयोजक अधिकारी साविक लिच्कीराम्चे हाल खोटेहाङ गाउँपालिकाको अगुवा विद्यालय सिम्पानी माविका सेवानिवृत प्रअ हुन्। अधिकारीको संयोजकत्वको समितिमा सेवानिवृत्त जिल्ला शिक्षा अधिकारी शंकर कार्की, त्रिभुवन मावि, ऐंसेलुखर्कका सेवानिवृत प्रअ लवकुमार राई, सेवानिवृत शिक्षक रामकाजी गुरुङ, वरिष्ठ अधिवक्ता हरिन्द्र राई, पत्रकार भुपराज खड्का लगायत लब्धप्रतिष्ठित तथा बौद्धिक र इमानदार व्यक्तिहरू समेटिएका छन्।
प्रकाशित: २२ माघ २०८२ १२:०७ बिहीबार





