प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले ताप्लेजुङलाई अलैंचीको सुपर जोन जिल्ला कायम गर्न आफूले पहलकदमी लिने बताएका छन्।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको हाङपाङमा जारी कोशी प्रदेश स्तरीय अलैंची महोत्सवको उद्घाटन गर्दै थेबेले अलैंचीको जिल्ला भनेर चिनिने ताप्लेजुङको जोन मात्र कायम हुने अन्य जिल्ला सुपरजोनको रूपमा कार्यक्रम अघि बढ्नु दुर्भाग्यपूर्ण भएको बताए। ताप्लेजुङ नेपाल भरमै बढी मात्रामा अलैंची उत्पादन हुने जिल्लाको रूपमा परिचित रहेको छ।
नेपालमा कुल उत्पादन हुने अलैंचीको उत्पादनको करिब ४७ प्रतिशत हिस्सा ताप्लेजुङले ओगट्ने ठानिएको छ। सांसद थेबेले सरकारले अन्तर्राष्ट्रिय बजारसँग समन्वय गरी अलैंची उत्पादकले पाउने न्यूनतम् सर्मथन मूल्य कायम गर्न सक्नुपर्नेमा जोड दिए। अलैंचीको ठूलो हिस्सा अन्तर्राष्ट्रिय जाने र मूल्य समेत अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने गरेका कारण अलैंचीको मूल्यमा उतारचढाव भइराख्छ। मूल्यको उतारचढावले किसान तथा व्यवसायीले पाउने मूल्य समेत उतारचढाव भइरहने भएकाले सर्मथन मूल्य कायम गरेमा उत्पादक तथा व्यवसायीले लागतको आधारमा मूल्य पाउने र यसले उत्पादनको मूल्य र व्यवसायिक सन्तुलन समेत कायम हुने थेबेको भनाइ छ।
कहिलेकाँही चलिरहेको मूल्यभन्दा धेरै कम भएर अन्तर्राष्ट्रिय बजारले मूल्य निर्धारण गर्दा यसले नेपालका अलैंची उत्पादक र व्यवसायी दुवै घाटामा जाने अवस्था रहेको बताउँदै न्यूनतम् सर्मथन मूल्य स्थापित गर्न सरकारले अन्तर्राष्ट्रिय बजारमा समन्वय र सहजीकरण गरिदिनुपर्ने धारणा थेबेले राखेका छन्। उनले प्राकृतिक विपद् र रोग किरा समेतका कारणबाट किसानले आफ्नो उत्पादनमा नराम्रो क्षति व्यहोर्दै आएको बताउँदै प्रतिनिधिसभा सदस्य थेबेले यसका लागि किसानको बाली बिमा गर्ने प्रणालीलाई प्रभावकारी र अनिवार्य हुने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए।
बाली बिमा भएमा त्यसको क्षति भरणमा सहयोग पुग्ने र किसानको मारमा कमी हुने उनको भनाइ रहेको छ। दुईदिने अलैंची महोत्सवको दोस्रो दिन शनिबार प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व कृषि मन्त्री खगेनसिं हाङगामसहितका जनप्रतिनिधि हाङपाङमा भेला भएका छन्। त्यहाँ संघ, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि तथा विज्ञ टोलीबिच अलैंचीको उत्पादन र उत्पादकत्व बढाउने देखि बजार व्यवस्थाापनसहितका विषयमा छलफल कार्यक्रम हुने महोत्सव मूल आयोजक समितिका संयोजक बालचन्द्र आङवुहाङले जानकारी दिए।
पहिलो दिनको कार्यक्रममा सांसद थेबेका साथ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ, जिल्ला प्रहरी प्रमुख (डिएसपी) उमेश जोशी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक नेपालसहितका स्थानीय जनप्रतिनिधि र कार्यालयका प्रमुखहरूको उपस्थिति थियो।
कोशी प्रदेश सरकार र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँ अलैंची महोत्सव सञ्चालन भएको हो।
प्रकाशित: १३ असार २०८३ १३:५४ शनिबार





