१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु : पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएका छन्।

लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताए। उनले सूचना प्रविधिको विकास गरेर पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारीको व्यवस्था गर्ने बताए।

यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए। जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको व्यवस्था गर्ने उनले बताए।

यसैगरी सबै सरकारी कार्यालय र वडाहरूमा सूचना प्रविधिको विकास गरी सेवा दिने व्यवस्था मिलाउने योजना आफूसँग रहेको उनले बताए। कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उनको भनाइ छ।

जिल्लामा रहेका होमस्टे गाउँहरूलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफू लागिपर्ने उनले बताए। उनले भने, 'तेह्र महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दै छु। जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ।'

यस पटक सबै राजनीतिक दलहरू एकल प्रतिस्पर्धामा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे। उनले भने, '२०७९ को निर्वाचनमा पनि एमालेमाथि घेराबन्दी थियो। पाँच दलीय गठबन्धन थियो, मेरो जीत भयो। मैले कुनै भ्रष्टाचार, अनियमता गरेको छैन, यस पटक मैले हार्नुपर्ने कुनै कारण छैन।'

नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरु पूरा गर्न आफू र आफ्नो पार्टीको जित अनिवार्य भएको बताए।

प्रकाशित: १ फाल्गुन २०८२ १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App