कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन्। उनले विशेषगरी नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवस्था बुझ्दै स्थानीयवासीसँग छलफल गरेकी हुन्।
अवलोकनका क्रममा नदी कटानबाट प्रभावित बस्तीको अवस्था, तटबन्ध निर्माणको प्रगति र कटान नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल भएको खनालले बताए।
नारायणी नदीको दुवैतर्फका बस्ती जोगाउन तटबन्ध निर्माण, कटान नियन्त्रण र आवश्यक बजेट व्यवस्थापनका विषयमा मन्त्री गौतमले चासो व्यक्त गरेकी थिइन्। कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम अघि बढाउनुपर्ने र अन्य क्षेत्रमा पनि दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा उनले जोड दिइन्।
स्थानीयवासीले बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणी नदी कटान नियन्त्रणका लागि बाँकी रहेका काम शीघ्र सम्पन्न गर्न माग गरेका थिए। नदी कटानका कारण बस्ती जोखिममा पर्ने समस्या समाधान गर्न तटबन्ध निर्माणलाई तीव्रता दिनुपर्ने उनीहरूको भनाइ थियो।
जवाफमा मन्त्री गौतमले नारायणी तटबन्ध निर्माणको बाँकी काम संघीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनियरको निगरानीमा अघि बढाइने बताइन्। त्यसका लागि आवश्यक बजेट सुनिश्चित गरेर काम अगाडि बढाउने उनको प्रतिबद्धता थियो।
उनले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्ती जोगाउने र विकास निर्माणका काम अघि बढाउने विषयमा सबै पक्ष एकजुट हुनुपर्नेमा पनि जोड दिइन्।
प्रकाशित: ६ कार्तिक २०८३ २०:५८ शुक्रबार





