१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस–एमाले गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याउछ भनेको थिएँ : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले राजनीतिक दुर्घटना निम्त्याएको बताएका छन्।  

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि कम्युनिस्ट तथा देशभक्त शक्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेको समेत बताए। 

‘हामीले शान्ति कायम गर्न नदिने साम्राज्यवादी षड्यन्त्रलाई परास्त गरेका थियौँ। हामीले संविधान बनाउन नदिने प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरेका थियौँ। हामीले निर्वाचन गर्न नदिने षड्यन्त्रलाई परास्त गरेका थियौँ,’ उनले भने। 

उनले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको अभियानलाई प्राथमिकता दिएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले ठूला भ्रष्टाचारका फाइल खोलेको बताए। त्यसबेला नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेको स्मरण गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै सामाजिक न्यायका क्षेत्रमा पनि अभियान सञ्चालन गरिएको उल्लेख गरे। 

त्यस अवधिमा मधेश प्रदेशमा नागरिकताको समस्या समाधान, मिटरब्याजपीडितलाई न्याय र सामाजिक सुरक्षा कोषमा आबद्धताजस्ता विषयमा सरकारले काम अघि बढाएको उनको भनाइ छ। 

तर, त्यही समयमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने तथा आफू नेतृत्वको सरकार हटाउने कदम अस्वाभाविक, अप्राकृतिक र अलोकतान्त्रिक भएको उनको टिप्पणी छ। 

‘नेपाली कांग्रेस र एमालेका नेताहरूले जे समीकरण बनाउनुभएको छ, त्यो लोकतन्त्र र संविधानको मर्मविपरीत छ, देशको हितविपरीत छ, सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षाविपरीत छ,’ त्यसबेला आफूले भनेको कुरा स्मरण गर्दै उनले भने।  

प्रकाशित: १७ कार्तिक २०८३ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App