३० चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

राजदूत समक्ष गृहमन्त्रीले भने- नेपाली नेताहरुको कालो धन स्वीस बैंकमा भए फिर्ताको पहल गरिदिनू

गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीबीच शिष्टाचार भेटघाट भएको छ।

गृह मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई सफल कार्यकालको शुभकामना दिइन्।

भेटमा गृहमन्त्री गुरुङले नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायतका कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरे/नगरेको विषयमा अनुसन्धान गर्न राजदूतसँग आग्रह गरेका थिए।

यदि नेपाली अधिकारीहरूले त्यस्तो कालो धन स्वीस बैंकमा जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था मिलाउन उनले राजदूतसमक्ष आवश्यक पहलका लागि अनुरोध गरे।

छलफलका क्रममा राजदूत मैवलीले दुई देशका सरकारबीच आप्रवासन मामिलामा सहकार्य गर्ने प्रस्ताव राखिन्। जवाफमा गृहमन्त्री गुरुङले उक्त विषय हाल सरकारभित्र छलफलकै क्रममा रहेको बताए।

यसैगरी, राजदूत मैवलीले विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र योगदानको प्रशंसा गरिन्। नेपालमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित: २५ चैत्र २०८२ २१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App