सरकारले नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाललाई काठमाडौंमा मोटरसाइकल र्याली गर्न नदिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरेर मोटरसाइकल र्याली गर्न नदिने संकेत गरेको छ।
‘शनिवारका दिन फरक–फरक समूहहरूले काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल र्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘गत भाद्र २३ गतेको जेन–जी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटनाहरू हुन पुगेको यहाँहरू सबैलाई विदितै छ।’
शान्ति सुरक्षाको स्थिति बनाइराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारू गर्ने कार्य सुरु भएको बताउँदै त्यसै सिलसिलामा र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउनसक्ने प्रशासनको दाबी छ।
‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ सूचनामा भनिएको छ।
युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली गर्ने तयारी गरेको छ। देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गर्न लागेको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताएका थिए।
युवा संघको र्याली दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै फेरि तीनकुनेमै पुगेर समापन हुने तय गरिएको थियो।
प्रकाशित: २४ आश्विन २०८२ १५:२० शुक्रबार





