बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
सन्देशमा उनले देशको सर्वोच्च कानुन संविधान भएकाले यसको परिपालना सबैको कर्तव्य भएको तथा यसको मर्मअनुरूपको लोकतान्त्रिक कल्याणकारी राज्यको अनुभूति जनतामा दिलाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित: ३ आश्विन २०८३ ०९:३६ शनिबार





