५ मंसिर २०८३ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहको टिकट बाँड्न माथिल्लो तहले हस्तक्षेप गर्दैन : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको माथिल्लो तहले हस्तक्षेप नगर्ने बताएका छन्। 

स्थानीय तहका उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय सम्बन्धित तल्लो तहले नै गर्नुपर्ने उनको निर्देशन छ।

भक्तपुरको मध्यपुरथिमिमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै दाहालले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा माथिल्लो तहबाट हस्तक्षेप नहुने बताएका हुन्। उनले स्थानीय तहका उम्मेदवार छनोट गर्ने जिम्मेवारी सम्बन्धित तहलाई नै दिनुपर्नेमा जोड दिए।

सो अवसरमा संयोजक दाहालले संविधान र कानुनको व्यवस्थाअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन हुनुपर्ने बताए। स्थानीय तहको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते पूरा हुने भएकाले त्यसैलाई आधार मानेर निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो।

उनले निर्वाचन आयोगले वैशाखमा स्थानीय तह र आगामी मङ्सिरको पहिलो साता प्रदेश निर्वाचन गर्ने प्रस्ताव गरेको जानकारी दिए। दलहरूको धारणा पनि संविधानले व्यवस्था गरेअनुसार नै निर्वाचन हुनुपर्ने रहेको उनले बताए। लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियानका क्रममा जनताको घरदैलोमा पुगेर पार्टीले विगतमा गरेका कामबारे जानकारी गराउनुपर्ने बताए। रासस

प्रकाशित: ५ मंसिर २०८३ १८:११ शनिबार