३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

ग्यास लिन पनि परिचयपत्र अनिवार्य भएपछि ज्ञानेन्द्र शाहीको कटाक्ष : ग्यास लिन लागेको हो कि नाका पार गर्न ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि समेत राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।

नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट आज खाना पकाउने ग्यास वितरण गरिरहेको छ। ग्यास लिन आउँदा उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य साथमा लिनुपर्ने बताएको छ। सोही सन्दर्भ उल्लेख गर्दै शाहीले ग्यास लिन जाने उपभोक्ताले समेत परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो?’ भन्दै उनले सरकारको व्यवस्थापनप्रति प्रश्न उठाएका छन्।

शाहीले सरकारले पाँच महिनामै देशको कायापलट गरिदिन्छ भन्ने अपेक्षा नरहेको बताउँदै जनताले दैनिक जीवनमा भोगिरहेका आधारभूत समस्या भने समाधान गर्नुपर्ने भनाइ राखेका छन्।

उनले सरकारलाई जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्नेतर्फ गम्भीर बन्न आग्रह गर्दै ग्यासजस्तो अत्यावश्यक वस्तु लिनसमेत नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

'ग्यास किन्न पनि अब राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य! आज काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री हुँदैछ, तर ग्यास लिन पनि परिचयपत्र बोकेर लाइन बस्नुपर्ने अवस्था आयो। ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो?' उनले प्रश्न गर्दै भने, 'सरकारले पाँचै महिनामा देशलाई कायापलट गरिदिन्छ भनेर हामीले अपेक्षा गरेका छैनौँ। तर जनताले दैनिक जीवनमा भोग्नुपर्ने आधारभूत समस्या त समाधान गर्न सक्नुपर्‍यो नि सरकार!'

प्रकाशित: ३० श्रावण २०८३ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App