२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सरकारले १०१ अन्तर्राष्ट्रिय पदक विजेतालाई साढे १० करोड बढी पुरस्कार दिने

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा मुलुकको शिर उच्च बनाउने १०१ जना खेलाडी तथा खेल टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार प्रदान गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीहरूको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।

मन्त्रालयका अनुसार ‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२)’ बमोजिम यो पुरस्कार वितरण गरिनेछ। यसअघि पनि पदक विजेता खेलाडीहरू पुरस्कृत हुँदै आए तापनि सरकारले खेलाडी प्रोत्साहनका लागि पहिलो पटक यति ठुलो राशि विनियोजन गरेको हो।

मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेताहरू यस ऐतिहासिक पुरस्कार सूचीमा समेटिएका छन्। प्रस्तावित सूचीमा माल्दिभ्समा सम्पन्न ‘१५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप-२०२४’ का पदक विजेता चार खेलाडी समावेश छन्। त्यसैगरी, भारतमा सम्पन्न ‘प्रथम खो–खो विश्वकप-२०२५’ मा रजत पदक जित्न सफल नेपाली महिला टोलीका १८ र पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।

यस्तै, ‘युडब्लु एसियन बेल्ट रेस्लिङ-२०२५’ मा कांस्य पदक जित्ने तीन खेलाडी र मलेसियामा सम्पन्न ‘१०औं एसियाली पारा तेक्वान्दो प्रतियोगिता-२०२५’ का कांस्य पदक विजेता तीन खेलाडीलाई पनि सरकारले नगद पुरस्कार दिने निर्णय गरेको छ।

त्यस्तै, चीनमा सम्पन्न ‘छैटौं एसियन बीच गेम्स-२०२६’ अन्तर्गत बीच कबड्डीतर्फ कांस्य पदक जित्ने नेपाली महिला टोलीका सात खेलाडी र मलेसियामा सम्पन्न ‘एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५’ मा स्वर्ण पदक जित्ने १७ खेलाडी यो सूचीमा समावेश छन्।

यसैगरी थाइल्यान्डमा सम्पन्न ‘५७औं बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप-२०२५’ मा कांस्य पदक जित्ने एक खेलाडी, श्रीलङ्कामा सम्पन्न ‘एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप-२०२५’ का स्वर्ण पदक विजेता एक खेलाडी तथा बहराइनमा सम्पन्न ‘आइएसएफ जिम्नासियाड-२०२४’ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी सम्मानित हुनेछन्।

ओमानमा सम्पन्न ‘एसिसी मेन्स इस्ट जोन क्वालिफायर-२०२४’ मा स्वर्ण पदक हात पार्दै विश्वकपका लागि छनोट हुन सफल नेपाली टोलीका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार पारिएको यो पुरस्कार प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई चाँडै नै विशेष कार्यक्रममार्फत नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३१ असार २०८३ १८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App