२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन्।

हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए।

हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भने, 'हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ। अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ।'

उनले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेको बताए। देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भैरहेको उल्लेख गर्दै उनले यस क्षेत्रको सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २३ आश्विन २०८३ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App