सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
‘कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,’ उनले भने।
सञ्चारमन्त्री तिमिल्सिनाले विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण गरिरहेको जानकारी दिए।
नवप्रवर्तन र उद्यमशीलताको विकास कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दैउनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
उनले सूचना प्रविधिका क्षेत्रमा नेपालमा नयाँ जनशक्ति र विज्ञहरू विकास हुँदै गएको बताउँदै सरकारले त्यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न चाहेको स्पष्ट पारे।
‘अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ। यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउन सक्छ,’ उनले भने।
प्रकाशित: २३ आश्विन २०८३ ११:३८ शुक्रबार





