राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले समसामयिक विषयमा सांसदहरूले उठाएका प्रश्नको सरकारले जवाफ दिनुपर्ने माग गरिन्।
सांसद जयन्तीदेवी राईले लगातार तीन दिनदेखि परेको वर्षापछि सङ्खुवासभाको सिलीचोङ गाउँपालिका–१ स्थित सिदुवाखोलामा आएको बाढीपहिरोका कारण २८ घरपरिवार विस्थापित भएकाले तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन्। उनले विद्युत् अवरुद्ध हुँदा करिब ६ सय घरपरिवार प्रभावित भएकाले विद्युत् आपूर्ति नियमित गराउन पनि आग्रह गरिन्।
सांसद दुर्गा गुरुङले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी हटाउने क्रममा विस्थापित भएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका २८ वर्षीय डम्बर तामाङसँग सम्बन्धित घटनाले गम्भीर मानवीय र कानुनी प्रश्न उठाएको बताइन्।
सांसद नरबहादुर विष्टले शून्य समय र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै त्यसका लागि आवश्यक वातावरण बनाउन अनुरोध गरे। उनले जनताका जल्दाबल्दा समस्यासम्बन्धी प्रश्नको उत्तर सरकारले कहिले दिने भन्दै जिम्मेवारीपूर्वक जवाफ दिनुपर्ने बताए।
सांसद भुवनबहादुर सुनारले सिंहदरबारभित्र करिब सात अर्ब रुपैयाँ बराबरका सवारीसाधन जलेको घटनाको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका लागि छुट्याइएको बजेटबाट सवारीसाधन खरिद गर्नु व्यवहारिक नहुने बताए।
सांसद मोहम्मद खालिदले गरीबी र बेरोजगारीका कारण रुस गएका नेपालीमध्ये हालसम्म १२७ जनाको मृत्यु भएको विषय दुःखद् र चिन्ताजनक रहेको बताए। उनले करिब १०० नेपाली अझै बेपत्ता रहेकाले परराष्ट्र मन्त्रालयमार्फत उनीहरूको खोजी गर्न सरकारसँग आग्रह गरे।
सांसद राजेन्द्रलक्ष्मी गैरेले जनताका छोरीहरू सुरक्षित हुने वातावरण निर्माण गर्न सरकारसँग माग गरिन्। सांसद युवराज शर्माले प्रस्तावित यातायात तथा सवारीसाधन सम्बन्धी विधेयकमा जरिवानाको रकम अत्यधिक राखेर जनतालाई दुःख दिन नहुने बताए।
सांसद सुरेश आलेमगरले केही निश्चित शुल्क लिएर होल्डिङ सेन्टरबाट सुकुमबासीलाई हटाउन लागिएको भन्ने विषयमा सरकारको ध्यान जानुपर्ने बताए।
प्रकाशित: १७ असार २०८३ १५:५४ बुधबार





